काठमाडाैँ । देशभरका सरकारी कार्यालयहरू आज (१ असार) देखि सञ्चालन हुँदैछन्। आजबाट सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुन लागेका हुन्।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन ११ चैतदेखि देशभरका अधिकांश सरकारी कार्यालय बन्द छन्। ८३ दिनदेखि बन्द रहँदै आएका सरकारी कार्यालय आजबाट पूर्ण रुपमा सञ्चालन हुन लागेका हुन्। लकडाउनको समयमा केन्द्रीय निकायका रूपमा रहेका मन्त्रालय र केही अत्यावश्यकीय सेवा दिने कार्यालयबाहेक अधिकांश कार्यालयहरू बन्द रहँदै आएका थिए।
बिहानको सिफ्ट बिहान ६ बजेदेखि १ बजेसम्म र दिउँसोको सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन्। कोरोना संक्रमण फैलिन नदिन सुरक्षाका सबै उपाय अपनाएर कार्यालय सञ्चालन गरिने सरकारले जनाएको छ।
तर, सरकारले कर्मचारीलाई अनिवार्य कार्यालय जान भने पनि सार्वजनिक सवारी साधन चढेर कार्यालय जाने आउने कर्मचारीलाई भने सहज छैन। कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
२८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई केही खुकुलो बनाउने र १ असारदेखि देशभरका सरकारी कार्यालयको सेवाप्रवाह सञ्चालन गर्ने निर्णय गरेको थियो। लामो लकडाउनको कारण जनजीवन कष्टकर बनेपछि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयलाई पत्राचार गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न भनेको छ।
कार्यालय प्रभावकारी रूपमा सञ्चालन भए–नभएको बारेमा प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
Facebook Comments