काठमाडौं । नेपालको आगामी निर्वाचन तयारीका लागि भारत सरकारले प्रदान गरेको चुनाव सम्बन्धी सहयोगको दोस्रो चरण आज अर्थ मन्त्रालयमा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
भारतको काठमाडौंस्थित दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा २५० भन्दा बढी सवारीसाधनहरू हस्तान्तरण गरेका हुन्। यो सहयोग नेपाल सरकारको अनुरोधमा निर्वाचन तयारीका लागि प्रदान गरिएको हो।
कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री खनालले नेपाल र भारतबीचको लामो समयदेखिको सहकार्य तथा मित्रवत् सम्बन्धको चर्चा गर्दै भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरे। उनले यी सवारीसाधनहरूले आगामी निर्वाचनको तयारीमा महत्वपूर्ण योगदान पुग्ने बताए।
यसअघि पहिलो चरणको सहयोग २० जनवरी २०२६ मा हस्तान्तरण गरिएको थियो। आगामी हप्ताहरूमा थप चरणहरूमा बाँकी सहयोग हस्तान्तरण हुने अपेक्षा गरिएको छ।
भारतले सन् २००८ देखि नै नेपाललाई निर्वाचन सम्बन्धी सहयोग प्रदान गर्दै आएको छ। यस अवधिमा विभिन्न मन्त्रालय, सुरक्षा निकाय तथा निर्वाचन आयोगलाई करिब २,४०० सवारीसाधन उपहारस्वरूप दिइसकेको छ। यसपटक आगामी निर्वाचनका लागि भारतले कुल करिब ६५० सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
‘यो सहयोग दुई देशबीचको बहुपक्षीय तथा बहुक्षेत्रीय विकास साझेदारीको निरन्तरता हो।’ काठमाडौंस्थित भारतीय दूतावासद्धारा जारी प्रेस नोटमा भनिएको छ -‘यसले नेपाल र भारतका जनताबीचको गहिरो आपसी विश्वास तथा मित्रताको प्रतीकको रूपमा रहेको छ।’












Facebook Comments