‘एआई फर इन्क्लुसिभ ग्रोथ : बिल्डिङ नेपाल्स एआई रेडी फ्युचर’

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले एआई एसोसिएसन अफ नेपालसँगको साझेदारीमा आज शुक्रबार ‘एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल्स एआई रेडी फ्युचर’ नामक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमलाई २०८२ फागुन ७-८ मा नयाँ दिल्लीमा आयोजना हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रि-समिटको रूपमा मान्यता दिइएको छ।

उक्त कार्यक्रममा छलफलका प्रमुख क्षेत्रहरू मध्ये आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट पनि रहेको थियो। कार्यक्रममा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल, शैक्षिक संस्थाहरू, थिंक ट्याङ्कहरू र सञ्चार माध्यमका ४०० भन्दा बढी सहभागीहरु उपस्थित थिए।

काठमाडौंमा आयोजित यस प्रि-समिट कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए। उनले नेपाल सरकारको एआईसम्बन्धी पहलहरु र यस क्षेत्रमा सहकार्यको सम्भावनाबारे चर्चा गरे।

पूर्ण सत्रमा बोल्दै राजदूत नवीन श्रीवास्तवले भारतको एआई फर अल को दृष्टिकोणमा अन्तर्निहित सिद्धान्तहरूको व्याख्या गरे। राजदूत श्रीवास्तवले आगामी हुन लागेको एआई इम्प्याक्ट समिटको उद्देश्य एआई सम्बन्धी विश्वव्यापी व्याख्यानलाई परिवर्तन गरी एआईले हाम्रो जीवनका सबै पक्षहरूमा पार्ने ‘प्रभाव’ र यसको भविष्यमा हुने अभिव्यक्तिहरूमा केन्द्रित हुने कुरामा जोड दिए।

उनले नेपाली युवाहरूलाई एआई फर अल, एआई फर हर र वाईयूभीएआई जस्ता विभिन्न एआई चुनौतीहरूमा ठूलो संख्यामा सहभागी हुन पनि प्रोत्साहन दिए।

डिजिटल इन्डिया भाषिणी डिभिजनका प्रमुख कार्यकारी अधिकारी अमिताभ नागले एआई फर अल को भावना अनुरूप भारतमा सार्वजनिक सेवाहरूको रूपान्तरणमा भाषिणीको भूमिकाको विषयमा मुख्य प्रस्तुति दिए। उनले विकासका लागि भाषिणीको प्रयोगका धेरै उदाहरणहरू प्रदर्शन गरे। अब्जर्भर रिसर्च फाउन्डेसन, डिजिटल सोसाइटीज इनिसिएटिभका निर्देशक अनिर्बान शर्माले सहभागीहरूलाई एआई इम्प्याक्ट समिटको बारेमा परिचय गराए।

यसपछि एआई एसोसिएसन अफ नेपालका उपाध्यक्ष डा. सुरेश पोखरेलद्वारा सञ्चालित ‘लेभरेजिङ एआई फर नेपाल्स ग्रोथ’ विषयक एक विज्ञमण्डलको छलफल भएको थियो। यस विज्ञमण्डलमा नेपाल सरकारका सहसचिव आदेश खड्काले नेपालको लागि एआई नीति विकास गर्ने बारेमा आफ्नो दृष्टिकोण साझा गरे।

रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ई. विकास गुरुङले नेपालका युवाहरूमाझ रोबोटिक्स र एआई अपनाउने प्रवृत्ति बढाउनका लागि गरिएका पहलहरूको बारेमा विस्तृत रूपमा बताए।

Facebook Comments