भारत सरकारको आर्थिक सहयोगमा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

प्यूठान । लुम्बिनी प्रदेशको प्यूठान जिल्ला, ऐरावती गाउँपालिका–१, अमिलीमा अवस्थित श्री दाङवाङ माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन र छात्रावास भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित यी संरचनाहरूको उद्घाटन भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ (High Impact Community Development Project) अन्तर्गत प्रदान गरिएको अनुदानबाट विद्यालय भवन, छात्रावास भवन तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको हो। यो परियोजना ऐरावती गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो।

श्री दाङवाङ माध्यमिक विद्यालय प्यूठानको ग्रामीण क्षेत्रकै अग्रणी सरकारी विद्यालयमध्ये एक हो। हाल यसमा ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म पढाइ हुँदै आएको छ र कुल २३४ जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन्।

कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य सरोकारवालाहरूले नेपालको विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आएकोमा भारत सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

नवनिर्मित पूर्वाधारले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न ठूलो मद्दत पुग्ने र सिकाइ वातावरणमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरिएको छ। यसले समग्रमा क्षेत्रको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

छिमेकी मुलुकका रूपमा भारत र नेपालबीच बहुआयामिक र गहिरो सहकार्य रहिआएको सन्दर्भमा यस्ता परियोजनाले नेपाल सरकारको विकास तथा समृद्धिको प्रयासलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको भारतीय राजदूतावासले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.