चिनियाँ लगायत विदेशी नागरिकमाथि सरकारले गर्‍यो कडाइ

काठमाडौं । विभिन्न बहानामा नेपाल आएर शंकास्पद गतिविधिमा संलग्न रहेका विदेशी नागरिकमाथि सरकारले कडाइ गर्न थालेको छ । छिमेकी मुलुक तथा अन्य देशका बारेमा अनावश्यक चियोचर्चाे गर्नेमात्र नभई, नेपालमै नेपालीबीच जासुसी गर्ने काममा संलग्न रहेको आशंकामा अध्यागमन विभागले पछिल्लो समय त्यस्ता विदेशी नागरिकमाथि निगरानी बढाएको छ ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालको अस्थिर राजनीतिक अवस्था र कमजोर निगरानी प्रणालीको फाइदा उठाउँदै केही विदेशी नागरिकले नेपालको भूमिलाई अवैध सूचना संकलन केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन् । यही कारण सरकारले विशेष निगरानी र कारबाही अभियान शुरू गरेको हो ।

अध्यागमन विभागको पछिल्लो अभियानमा ८ विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनका ३ जना रहेका छन् । त्यसरी पक्राउ पर्नेमा ली वेई पर्यटक भिसामा नेपाल आएका तर काठमाडौं र पोखरामा रहँदै स्थानीय व्यावसायिक संघका पदाधिकारीसँग गोप्य भेटघाट गर्ने गतिविधि देखिएको कारण उनीमाथि नेपाल सरकारले अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, झाङ युहाओ आईटी क्षेत्रको लगानीकर्ता भनी भिसा लिएका तर विदेशी लगानीसम्बन्धी कागजात संकलनमा संलग्न रहेको भन्दै सरकारले उनीमाथि कारबाही अघि बढाएको छ । विभागले चेन मेइलिन चिनियाँ नागरिकलाई पनि नियन्त्रणमा लिएको छ । विद्यार्थी भिसामा काठमाडौंमा बसोबास गर्दै ती चिनियाँ नागरिक संवेदनशील सरकारी कार्यालयवरिपरि बारम्बार देखिएको र गतिविधि पनि शंकास्पद देखिएकाले अनुसन्धान शुरू गरेको बताइएको छ ।

विभागले मोरक्कोका २ जना नागरिकलाई पनि नियन्त्रणमा लिएको छ । अहमद एल गैरसरकारी संस्थामा काम गर्ने भन्दै नेपाल भित्रिएका उनी नेपालका राजनीतिक दलको आन्तरिक बैठकका बारेमा समेत चासो लिँदै आएको भन्दै विभागले नियन्त्रणमा लिएको छ । त्यस्तै, समिरा बेनअली पर्यटन उद्देश्य देखाएर आएको तर नेपाली र विदेशी लगानीकर्ताबीचको विवादमा संलग्न रहेको देखिपछि उनी पनि अनुसन्धानको घेरामा तानिएका थिए ।

विभागले बंगलादेशका नागरिक मो. सफिकुल इस्लाम व्यापारिक भिसामा आएर छिमेकी मुलुकसम्बन्धी गोप्य सूचना संकलन गरेको आरोपमा पक्राउ गरेको छ । त्यस्तै, आसिफ हुसैन प्राविधिक सल्लाहकारका रूपमा काम गर्दै सीमा क्षेत्रको संवेदनशील तस्वीर खिचेको र विभिन्न गतिविधि गरेको भन्दै उनी पनि अनुसन्धानको घेरामा परेका छन् ।

फ्रान्सका नागरिक पियेर दुबोइस पत्रकार भिसामा नेपाल आएर रक्षा तथा सुरक्षा निकायसँग सम्बन्धित गैरप्रकाशित प्रतिवेदन संकलन गरेको आशंकामा विभागले नियन्त्रणमा लिएको बताइएको छ ।

अध्यागमन विभागका अनुसार यी सबै व्यक्तिहरूमाथि हाल अनुसन्धान शुरू भएको छ । कसैले नेपालभित्र मात्र कारबाही भोग्नुपर्ने, कसैलाई भने निष्कासन गरेर उनीहरूकै देश पठाइने निर्णय हुने बताइएको छ । उनीहरूको गतिविधि हेरेर कानुनी प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

हाल नेपालमा विदेशी आगन्तुकको आगमनदेखि प्रस्थानसम्मको गतिविधि नियालेर ट्रयाक गर्ने एकीकृत प्रणाली छैन । विकसित मुलुकमा जस्तै प्रवेशपछि कहाँ बस्ने, कससँग सम्पर्क गर्ने, कुन क्षेत्रमा यात्रा गर्ने भन्ने विवरण नियमित रूपमा अद्यावधिक गर्ने व्यवस्था नेपालमा अझै बनेको छैन । यसका कारण विदेशी नागरिकहरूले भिसा अवधिभरि नेपालको जुनसुकै स्थानमा जान पाउने भएकाले अवैध गतिविधिको जोखिम बढेको छ ।

अध्यागमन विभागका एक अधिकारीका अनुसार, हालका जासुसी गतिविधि परम्परागत ‘एजेन्ट’ मोडलभन्दा फरक छन् । धेरैजसो व्यक्तिहरू स्वयंलाई पर्यटक, अनुसन्धानकर्ता, लगानीकर्ता वा सामाजिक कार्यकर्ता भनेर चिनाउँछन् । तर, पछाडि विदेशी मुलुकको सुराकी निकायसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको प्रमाण भेटिएको छ ।

‘उनीहरूले नेपालका भित्री राजनीतिक गतिविधिमात्र होइन, छिमेकी मुलुकका बारेमा पनि सूचना संकलन गर्छन्’, एक अनुसन्धान अधिकृतले भने– ‘यो क्षेत्रीय शक्ति प्रतिस्पर्धासँग जोडिएको संवेदनशील विषय हो ।’

सरकारले अब देशभित्र विदेशी गतिविधि निगरानी गर्नका लागि छुट्टै डिजिटल ट्रयाकिङ प्रणाली विकास गर्ने योजना बनाएको छ । पर्यटन मन्त्रालय, अध्यागमन विभाग, गृह मन्त्रालय र सुरक्षा निकायबीच समन्वय गरी ‘भिसा–टु–मुभमेन्ट’ प्रणाली लागू गर्ने तयारी भइरहेको गृह स्रोतले जानकारी दियो ।

यस अभियानलाई अध्यागमन विभागले हाल निरन्तरता दिइरहेको छ र आवश्यक परे संवेदनशील क्षेत्रमा विदेशीको पहुँचमा प्रतिबन्ध लगाउनेसमेत तयारी भइरहेको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.