काठमाडाैं । भारतले विभिन्न पाँचवटा विकास परियोजनामा सहयोग गर्ने भएको छ ।
नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा पाँच उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) सञ्चालन गर्न सोमबार समझदारी भएको छ हो ।
काठमाडौंस्थित भारतीय दूतावास र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी परियोजनाहरूको कुल अनुमानित लागत ३९ करोड रहेको छ ।
समझदारी भएका आयोजनामा चारवटा विद्यालय भवन छन् । धनुषाको बटेश्वर गाउँपालिकाको जन शक्ति माध्यमिक विद्यालय, पर्साको पोखरिया नगरपालिकाको महोबानी पदम माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकाको बसुकी माध्यमिक विद्यालय, बाराको प्रसौनी गाउँपालिकाको बेंगा साह माध्यमिक विद्यालयको भवन, छात्रवास र पुस्तकालय भवन बनाउने समझदारी भएको हो ।
त्यसैगरी मनाङको नासोँ गाउँपालिका–५ मा भारत सरकारले ५ शय्याको अस्पताल भवन बनाउने समझदारी भएको छ ।
यी परियोजनाहरू नेपाल सरकारका स्थानीय निकायहरू, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन हुनेछन् । यी परियोजनाहरूले नेपालका जनताका लागि शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालमा ५७९ उच्च प्रभाव विकास परियोजनाहरू सञ्चालन गरेको छ । जसमध्ये ४९६ परियोजना स्वास्थ्य, शिक्षा, खानेपानी, सञ्चार, सरसफाइ र सार्वजनिक सुविधा निर्माणका क्षेत्रमा नेपालका सातै प्रदेशमा सम्पन्न भइसकेका छन् । बाँकी परियोजनाहरू विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन् ।











Facebook Comments