भोजपुरको अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास

काठमाडाैं । भोजपुरको अरुण गाउँपालिकामा भारतीय सहयोगमा बन्न लागेको अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास गरिएको छ। बुधबार आयोजित कार्यक्रममा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो। भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको लागत ३ करोड १८ लाख ८८ हजार रुपैयाँ रहेको छ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत बन्न लागेको तीन तल्ले भवनमा कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालयसहित अन्य सहयोगी संरचनाहरू रहनेछन्। यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको र निर्माण कार्य अरुण गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष खत्री र राजनीतिक प्रतिनिधिहरूले नेपालको विकासका लागि भारतले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए। प्रतिष्ठान भवन निर्माणले क्षेत्रको सांस्कृतिक र शैक्षिक पूर्वाधार विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

सन् २००३ यता भारत सरकारले नेपालमा ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ। तीमध्ये ९३ परियोजना कोशी प्रदेशमा सञ्चालन भइरहेका छन्। भारत सरकारले नेपालका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस पनि उपहार स्वरूप प्रदान गरेको छ। भोजपुरमा ७ वटा एम्बुलेन्स र १ वटा स्कुल बस भारतले उपहार स्वरूप उपलब्ध गराइसकेको छ।

भारत र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै जाने क्रममा भारतीय सहयोगमा अघि बढाइएका परियोजनाले नेपाली जनताको जीवनस्तर उकास्न र प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तारमा टेवा पुर्‍याउने भारतीय राजदूतावासले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.