माओवादीको बहिष्कारका बावजुद संसदीय समितिले अनुमोदन गर्‍याे सर्वोच्चमा प्रस्तावित न्यायाधीशको नाम

काठमाडौं । नेकपा माओवादी केन्द्रले बैठक बहिस्कार गरेपनि संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एकजना न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको छ।

आज बसेको संसदीय समितिको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमाअनुमोदन गरेको हो।

समितिले न्याय परिषद सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ।

यसप्रति माओवादीले भने असहमति जनाएको छ। निर्णयमा असहमति जनाउँदै माओवादी सांसद्हरूले बैठक बहिष्कार गरेका छन्।

समिति सदस्य तथा माओवादी सांसद जगप्रसाद शर्माले आफूहरुले बैठक बहिष्कार गरेको बताए।

शर्माले भनेका छन्–‘व्यक्तिप्रति हाम्रो असहमति होइन । संविधानको मर्मअनुसार न्यायाधीश नियुक्ति समावेशी भएन भन्ने मात्रै हो। हामीले समावेशी आधारमा नियुक्त गरौँ भनेर रोक्दै आएका थियौँ। तर, उहाँहरुले समावेशी आधारमा नियुक्ति गर्नेतर्फ ध्यान दिनु भएन। हामीले बैठक बहिष्कार गर्‍यौँ।’

Facebook Comments