चिनियाँ डाटा नियन्त्रण उल्टियो : पार्टी अधिकारीहरू नै बने निशाना

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (CCP) ले लामो समयदेखि जनताको निगरानी र सत्ताको स्थायित्वको नाममा निर्माण गरेको विशाल डिजिटल निगरानी प्रणाली अहिले आफैंका लागि घातक बन्दै गएको छ। पछिल्ला केही महिनाहरूमा उच्चस्तरीय पार्टी अधिकारीहरूसँग सम्बन्धित गोप्य र लाजमर्दो विवरणहरू सार्वजनिक हुँदा, सत्ताले सञ्चय गरेको केन्द्रीयकृत डाटाको दुरुपयोग स्वयं पार्टीभित्रैबाट हुन थालेको देखिएको छ।

विगत दशकभरि CCP ले अनुहार पहिचान प्रणाली, कृत्रिम बुद्धिमत्ता, इन्टरनेट निगरानी, र सामाजिक क्रेडिट स्कोर जस्ता उपकरण प्रयोग गरी जनताको प्रत्येक गतिविधि निगरानी गर्दै आएको छ। यस प्रणालीले जनतालाई मात्र होइन, आफ्ना कार्यकर्ता र नेताहरूलाई समेत अनुशासनमा राख्न प्रयोग गर्दै आएको थियो। तर अत्यधिक केन्द्रीयकृत डाटा भण्डारणले प्रणालीलाई अत्यन्तै संवेदनशील बनाएको छ—एकपटक भङ्ग भएमा त्यसको असर गम्भीर हुन सक्छ।

हालैका लीकहरूमार्फत उच्च नेताहरूका निजी संवाद, वित्तीय विवरण, निगरानी भिडियोहरू, र गुप्त सञ्चारहरू सार्वजनिक भएका छन्। सरकारद्वारा तिव्र सेन्सर प्रयास गरिए तापनि ती सामग्रीहरू इनक्रिप्टेड एपहरू र विदेशी प्लेटफर्ममार्फत तीव्र गतिमा फैलिएका छन्।

कतिपय विवरणले पार्टी नेताहरूको गोप्य सम्पत्ति, विलासी जीवनशैली र नैतिक विचलनहरू उजागर गरेका छन्, जुन पार्टीले प्रचार गर्ने सादगी र निष्ठासँग मेल खाँदैन। यसले केवल जनविश्वासमाथि आघात पुर्याएको छैन, पार्टीभित्रै गुटबन्दी र सत्ता संघर्षलाई पनि उक्साउने सम्भावना बढाएको छ।

यी लीकहरू अझ खतरनाक यसकारण छन् कि तिनीहरू धेरैजसो पार्टीभित्रकै प्राविधिक, कर्मचारी वा असन्तुष्ट प्रशासकबाट आएको आशंका गरिएको छ। निरन्तर निगरानी, अनुशासन र भयको वातावरणले आफ्नै सिस्टम भित्र असन्तुष्टहरूको जन्म गराइरहेको छ—जसले राज्यका उपकरणहरू उल्ट्याएर राज्यलाई नै चुनौती दिइरहेका छन्।

अब त्यो डिजिटल किल्ला जसले सत्तालाई सुरक्षित राख्ने दाबी गरिएको थियो, त्यही किल्ला भित्रबाटै भत्किन थालेको संकेत देखिन्छ। चीनको डाटा नियन्त्रणको रणनीति, जुन सत्ताको हथियार थियो, अहिले उल्टिएर आफैलाई चोट पुर्याउने बूमर्याङ सावित हुँदैछ।

Facebook Comments