एजेन्सी । चीनमा धोखाधडी र नक्कली सामानको महामारी दिन प्रतिदिन गहिरिँदै गएको छ, जसले विभिन्न उद्योगहरूदेखि सर्वसाधारण नागरिकसम्मको जीवनमा गम्भीर असर पारिरहेको छ। गाडी, औषधि, निर्माण, तथा उपभोग्य वस्तुहरूमा फैलिएको ठगी प्रवृत्तिले चिनियाँ समाजको नैतिक संरचना र सामाजिक विश्वासलाई चिराचुर पारेको छ।
एक भोल्भो कारधनीले आफूले लिएको कारमा रहेको Bowers & Wilkins अडियो सिस्टम नक्कली भएको खुलासा गरेपछि ठूलो जनचासो उत्पन्न भयो। सामाजिक सञ्जालमा यो खबर फैलिएपछि अरू कारधनीहरूले पनि जाँच गर्दा अडियो सिस्टमको लोगोमा वास्तविक ‘W’ नभएर जोडिएका ‘V’ अक्षरहरू प्रयोग गरिएको देखियो। कानुनी रूपमा कम्पनीले केवल “Bowers Audio” लेखेको हुँदा यो प्रवृत्तिलाई सीधै गैरकानुनी भन्न सकिएन, तर यो शब्दजालबाट उपभोक्तालाई झुक्याइएको प्रष्ट देखियो।
धोखाधडी यति सामान्य भएको छ कि मानिसहरू यसलाई अब सामान्य व्यवहार ठान्न थालेका छन्। अडियो सिस्टम नक्कली हुनु त सतहको उदाहरण मात्र हो। गाडीका स्टिल, इञ्जिन र सुरक्षा संयन्त्रहरूमा समेत मिलावट भएको आरोपहरू देखिँदै छन्, जसले सिधै मानिसको ज्यान जोखिममा पार्न सक्छ।
औषधिको क्षेत्रमा स्थिति झनै चिन्ताजनक छ। एक व्यक्तिले परम्परागत चिनियाँ औषधि ChraJidu को प्याकेट खोलेपछि कैप्सुलहरू भित्र पूरै खाली भएको देखाए। यस्तो अवस्था देख्दा नागरिकहरू अझै भयभीत भए, किनभने यस्ता औषधिहरूमा विश्वास गरेर धेरैजना स्वास्थ्योपचार गरिरहेका छन्।
“चिनियाँले चिनियाँलाई धोका दिँदैन” भन्ने भनाइ अहिले तिरस्कारको प्रतीक बनेको छ। वास्तवमा, धेरैजसो ठगीहरू आफैंका नागरिकमाथि भइरहेको पाइन्छ। घर बनाउने ठेकेदारदेखि स्वास्थ्य उत्पादन बेच्ने नातेदारसम्म सबैले उपभोक्तालाई छलिरहेका छन्।
चीनबाहिर रहेका चिनियाँ व्यापारीहरू पनि यस्ता क्रियाकलापमा लिप्त छन्। भियतनाममा एक चिनियाँ व्यापारीले आफ्नो सह्रदयी चिनियाँ भनिएको लजिस्टिक कम्पनीबाट पाँच गुणा बढी शुल्क तिर्नुपरेको बताए। अफ्रिकामा एक चिनियाँ लगानीकर्तालाई आफ्नै साझेदारले फर्जी आरोप लगाएर सम्पत्ति खोसिएको घटना सार्वजनिक भएको छ।
यस्तो संकटमा सरकारको प्रतिक्रिया भने कमजोर देखिन्छ। आर्थिक विकासलाई प्राथमिकता दिँदै उपभोक्ता संरक्षणप्रति ध्यान नदिइएको आरोप लागेको छ। मिडियाको नियन्त्रणले गर्दा यस्ता मुद्दाहरू सामान्यतया बाहिर आउँदैनन्—केवल सामाजिक सञ्जालमा फैलिएको बेला मात्र दबाबको कारण कारबाही हुने गर्छ।
धेरै युवाहरू अब खुलेर भन्छन्, “यदि तिमीले ठगी गर्यौ भने सफल भइन्छ, ईमानदार रहेर बाँच्न गाह्रो छ।” जब समाजमा सत्यता र विश्वासभन्दा ठगी र चलाखीलाई प्राथमिकता दिन थालिन्छ, त्यहाँ सामाजिक मूल्यहरू गहिरो संकटमा पर्नेछन्। चीन अहिले त्यही मोडमा पुगेको छ।












Facebook Comments