सर्वोच्चको आदेश : ‘लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने समय दिनू’

काठमाडौं । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने समय दिन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले चैत ११ गतेदेखि अनवरत रुपमा रहेको बन्दाबन्दी जेठ ३२ पछि फुकुवा हुने विश्वासमा कर तिर्ने सूचना जारी भएको अनुमान भए पनि लामो बन्दाबन्दीपछि असार ७ र १५ भित्र सबै करदाताले कर तिर्न सक्ने आधार नभएको ठहर गरेको छ।

लकडाउन खुल्नेबित्तिकै कर तिर्नुपर्ने दबाबमा रहेका जनतालाई सर्वोच्चको आदेशबाट केही राहत मिल्नेछ । सरकारले गत जेठ २५ गतेसम्म कर भुक्तानी गर्न सूचना जारी गरेको थियो। त्यसलगत्तै करदाताको चर्को विरोध सुरु भएको थियो । पछि सरकार यो निर्णयबाट ‘ब्याक’ भएर असार ७ र १५ गते भुक्तानी गर्न अर्को समय तोकेको थियो ।

अब सर्वोच्चको संयुक्त इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने आदेश जारी गरेसँगै तत्काललाई जनताको एउटा समस्या केही पर धकेलिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले आगामी असार १ गतेबाट क्रमिक रुपमा जनजीवन सामान्य बनाउने हेतुले जोरबिजोर आधारमा सवारी चल्न दिईने, पसल खोल्न पाईने, केही आधारमभूत सेवाहरु सञ्चालन गर्न दिने लगायतका निर्णय गरेको थियो ।

Facebook Comments