चिनियाँ ‘पानीजहाजको लस्कर’ र समुद्रमुनिको तार काट्ने प्रविधिले ताइवानमा त्रास

काठमाडाैं | चिनियाँ समुद्र तटबाट फैलिएको ‘पानीजहाजको लस्कर’ र समुद्रको ४,००० मिटर गहिराइसम्म सञ्चार केबल काट्न सक्ने नयाँ प्रविधिको विकासले ताइवानको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

यी नवीन प्रविधिले चीनको सैन्य र प्राविधिक शक्ति उजागर गरेको र ताइवानमाथि सम्भावित आक्रमणको चिन्ता बढाएको रक्षा विज्ञहरू बताउँछन् ।

सीएनएनको रिपोर्ट अनुसार यो घटना त्यसबेला भएको छ, जतिबेला चिनियाँ कम्युनिस्ट पार्टीले स्वशासित ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै दबाब बढाइरहेको छ । आवश्यक परे बल प्रयोग गर्ने धम्की दिइरहेको छ ।

चीनले ताइवान नजिकै लगभग दैनिक लडाकू विमान र युद्धपोत पठाउँछ । ताइवान समर्थकलाई तर्साउन बारम्बार सैन्य अभ्यास पनि गरिरहेको छ ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिले विश्व व्यवस्थामा परिवर्तन ल्याइरहँदा ताइवान थप चिन्तित छ ।

ट्रम्पले युरोपसँग दशकौंदेखिको सम्बन्ध त्याग्ने संकेत गरेका छन् भने एसियाली साझेदारलाई अमेरिकी सुरक्षाका लागि बढी खर्च गर्न दबाब दिइरहेका छन् । यस्तो अवस्थामा चीनको नयाँ प्रविधिको उदयले ताइवानलाई रणनीतिक रूपमा कमजोर बनाउन सक्ने आशंका बढेको छ ।

‘आक्रमणकारी’ पानीजहाजको लस्कर
यो महिनाको शुरूमा चिनियाँ सामाजिक सञ्जालमा ‘पानीजहाजको लस्कर’को भिडियो देखा पर्‍यो र तुरुन्तै हरायो ।

भिडियोमा समुद्र तटमा तीन विशाल पानीजहाज देखिएका थिए, जुन बलियो खुट्टामा उभिएर पुलद्वारा जोडिएका थिए । यो संरचनाले तटबाट ८०० मिटरभन्दा टाढासम्म फैलिएको विशाल मार्ग बनाएको थियो ।

सीएनएनले यो भिडियो गुआङ्दोङ प्रान्तको झानजियाङ नजिकैको सार्वजनिक समुद्र तटमा खिचिएको पुष्टि गरेको छ । जहाँ चिनियाँ नौसेनाको ‘साउथ सी फ्लीट’को मुख्यालय छ । उपग्रह तस्वीरले पनि यो स्थान प्रमाणित गरेको छ ।

रक्षा विश्लेषक जे. माइकल डाहम र थोमस शुगार्टले यो लस्करले चिनियाँ जनमुक्ति सेना (पीएलए)को उभयचर(जल र स्थल) आक्रमण क्षमतामा उल्लेखनीय सुधार ल्याएको बताएका छन् ।

ताइवान आक्रमणको अवस्थामा यो अस्थायी बेस बनेर ट्यांक, बख्तरबन्द गाडी र अन्य भारी उपकरण ठूलो परिमाणमा आपूर्ति गर्न सक्छ । डाहम भन्छन्, ‘यो लस्करले दुर्गम तट, क्षतिग्रस्त बन्दरगाह वा कठिन क्षेत्रमा प्रति घण्टा सयौं गाडी पुर्‍याउन सक्छ । पश्चिमी मुलुकमा यस्तो संरचना छैन, जुन हाम्रा लागि नौलो र चिन्ताजनक छ ।’

ताइवानको रक्षा मन्त्रालयले यो लस्करमा विस्तारयोग्य ‘र्‍याम्प’ भएको र मुख्य युद्ध ट्यांक तथा गाडीहरू छिटो उतार्न सकिने अस्थायी डकको रूपमा डिजाइन गरिएको बताएको छ ।

मन्त्रालयले यिनको क्षमता, सीमा र सम्भावित प्रयोगबारे निगरानी जारी राख्ने जनाएको छ । यो संरचनाले ताइवानको ८० माइल चौडा ताइवान स्ट्रेटमा दोस्रो चरणको आक्रमणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विज्ञहरूको अनुमान छ ।

समुद्र मुनिको केबल काट्ने प्रविधि
चिनियाँ राज्यसम्बद्ध अनुसन्धानकर्ताहरूले ४ हजार मिटर गहिराइसम्म सञ्चार र विद्युत केबल काट्न सक्ने शक्तिशाली उपकरण बनाएको दाबी गरेका छन् । यो गहिराइ विश्वको सबैभन्दा गहिरो समुद्री केबलको झन्डै दोब्बर हो ।

‘मेकानिकल इन्जिनियर’ जर्नलमा प्रकाशित यो डिजाइनले ताइवानको महत्त्वपूर्ण पूर्वाधारको जोखिम उजागर गरेको छ । हालै ताइवान वरपरका समुद्री केबलमा भएको संदिग्ध क्षतिले चीनले बाहिरी संसारसँग ताइवानको सम्पर्क तोड्न खोजेको आशंका बढाएको छ ।

सिंगापुरको ‘आरएसआईएस’का अनुसन्धानकर्ता कोलिन कोहले यस्ता उपकरण मर्मतका लागि सामान्य भए पनि ताइवानको सन्दर्भमा चिन्ताजनक भएको बताए ।

उनले भने, ‘ताइवान र बाल्टिक सागरमा चिनियाँ जहाज संलग्न केबल क्षतिको घटनाले यो प्रविधिको सैन्य प्रयोगको सम्भावना देखाउँछ ।’

आक्रमणको अवस्थामा यो उपकरणले ताइवानको सैन्य सञ्चार र जनमानसमा आतंक फैलाउन सक्छ । तर, कोहले यो अझै प्रयोगात्मक चरणमै हुन सक्ने र व्यावहारिक प्रयोगमा नआएको हुन सक्ने बताए ।

सैन्य रणनीति र ऐतिहासिक सन्दर्भ
यस्तो पानीजहाजको लस्करले दोस्रो विश्वयुद्धमा बेलायतले ‘नरम्यान्डी आक्रमण’का लागि बनाएको ‘मल्बेरी हार्बर’को सम्झना गराउँछ ।

केही विश्लेषकले यसको मानवीय राहत वा नागरिक प्रयोग सम्भव देखे पनि अधिकांशले सैन्य उद्देश्य नै मुख्य भएको ठान्छन् ।

ताइवानको रक्षा अनुसन्धान संस्थानका सुत्जु-युनले यो लस्करले तटीय अवतरण क्षेत्र बनाउन सक्ने र ताइवानले आत्मरक्षाका लागि आफ्नै बन्दरगाह नष्ट गरे पनि पीएलएलाई फाइदा पुग्ने बताए ।

थोमस शुगार्टले यो लस्करले समुद्री किनारको सडकसम्म र्‍याम्प राखेर छिटो सैन्य उपकरण तैनाथ गर्न सक्ने बताए ।

तर, यिनको ठूलो आकार र ढिलो गतिले पहिलो चरणको आक्रमणमा प्रयोग गर्न नसकिने उनको भनाइ छ । ‘हवाई, सूचना र नौसैनिक नियन्त्रण कायम भएपछि मात्र यो दोस्रो चरणमा प्रयोग हुन्छ’, उनले भने, ‘दोस्रो विश्वयुद्धको डी-डे आक्रमणमा जस्तै, यस्ता संरचना प्रयोग गर्नुअघि पूर्ण नियन्त्रण आवश्यक हुन्छ ।’

परीक्षण, भविष्य र क्षेत्रीय प्रभाव
उपग्रह तस्वीर अनुसार मार्च २१ मा यो लस्कर तटबाट १५ किलोमिटर दक्षिण सरेको थियो । तस्वीरमा ‘रोल-अन/रोल-अफ’ (आरओ-आरओ) पनि देखिएको छ, जसले गाडी र उपकरण ढुवानीमा पीएलएको क्षमता बढेको पुष्टि हुन्छ ।

सन् २०२१ को सैन्य अभ्यासमा चिनियाँ टेलिभिजनले यस्ता पानीजहाजबाट ट्यांकहरू ढुवानी गरिरहेको दृश्य देखाएको थियो । विश्लेषक डाहमले यो लस्करले आक्रमणपछिको रसद आपूर्तिमा ठूलो सुधार ल्याउने बताए ।

अमेरिकी अधिकारीले चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२७ सम्म ताइवान आक्रमणको तयारी गर्न पीएलएलाई निर्देशन दिएको अनुमान गरेका छन् ।

विश्लेषक डाहमको भनाइ उदृत गर्दै सीएनएन लेख्छ, ‘यो लस्कर सीको विश्वस्तरीय सेना बनाउने योजनाको एउटा हिस्सा हो । पीएलएको अन्य सुधारसँगै यसले ताइवानमाथिको आक्रमण तयारीलाई संकेत गर्छ ।’

यी प्रविधिले ताइवान र उसका साझेदारमाथि रणनीतिक चुनौती थपेको छ । ताइवानको सञ्चार र रक्षा संरचनामाथिको जोखिमसँगै चीनको सैन्य आधुनिकीकरणले क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ बहस छेडेको छ ।

ताइवान स्ट्रेटको तनावले अमेरिका, जापान र अन्य सहयोगी मुलुकलाई पनि प्रभावित गर्न सक्छ । विज्ञहरूले यस्ता प्रविधिको उदयले विश्व समुदायलाई चीनको महत्वाकांक्षा र क्षमताबारे सचेत गराउनु सकारात्मक भए पनि यसको दुरुपयोग रोक्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउँछन् ।

Facebook Comments