दाङ । तुलसीपुर उपमहानगरपालिकास्थितआज राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको शिलान्यास भएकाे छ ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा उक्त थिएटर भवन निर्माणको शिलान्यास गरेका हुन् ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेपाली रूपैयाँ ४.३३१ करोड परियोजना लागतमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण हुन लागेको दूतावासले जनाएकाो छ ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदानबाट अपरेशन थिएटर भवन र अन्य सम्बद्ध भाैतिक संरचनाहरू निर्माण भइरहेको हो ।
यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को रूपमा अघि बढ्दै तुलसीपुर उप–महानगरपालिका, दाङ मार्फत कार्यान्वयन भइरहेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तुलसीपुर उप–महानगरपालिकाका मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गरे ।
उनीहरूले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु (HICDP) अघि बढाइएका छन् र ४९५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् ।
यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । जसमध्ये लुम्बिनी प्रदेशमा १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यी मध्ये, दाङमा १९ वटा एम्बुलेन्स र ४ वटा स्कूल बस उपहारस्वरुप प्रदान गरिएको छ। जसमा दाङको राप्ती आँखा अस्पताललाई प्रदान गरिएको एउटा एम्बुलेन्स समावेश छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको (HICDP) कार्यान्वयनले प्राथमिकता क्षेत्रहरूमा पूर्वाधारको विस्तार गरी जनताको विकासका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको छ ।
Facebook Comments