काठमाडौँ — भारतले सैन्य शक्ति प्रदर्शन गर्दै आइतबार ७६ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी नयाँदिल्लीस्थित कर्तव्यपथमा आयोजित समारोहमा सैनिक मार्चका साथै क्षेप्यास्त्र, ट्यांक, लडाकु विमान, मोटरसाइकल लगायतले शक्ति प्रदर्शन गरिएको थियो ।
परेडमा स्वदेशी अर्जुन युद्ध ट्यांक, तेजस लडाकु विमान र उन्नत हलुका हेलिकोप्टरले जल, स्थल र आकाशमा विभिन्न प्रदर्शन गरेका थिए ।
इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो प्रमुख अतिथि रहेको समारोहमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका राजनीतिज्ञ, वरिष्ठ अधिकारी, विदेशी कूटनीतिज्ञ उपस्थित थिए ।
गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले पनि विभिन्न कार्यक्रम गरेको छ । दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा फहराएका थिए । कार्यक्रममा भारतका राष्ट्रपति मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन प्रत्यक्ष प्रसारण गरिएको थियो ।
कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र आश्रित परिवारलाई पाँच करोड रुपैयाँ प्रदान गरेका थिए । भारतीय सशस्त्र बलका २ सय १९ मृतक सदस्यका श्रीमती र आश्रित परिवारलाई २३ करोड २९ लाख वितरण गरिएको थियो
यसमा सन् २०२४ मा सेना समूह बिमा (एजीआई) कार्यक्रमअन्तर्गत मृत्यु सेवा लाभ, विस्तारित बिमा लाभ र एजीआई परिपक्वता भुक्तानी समावेश छन् । कार्यक्रममा नेपालमा बसोबास गर्ने भूतपूर्व सैनिकका लागि भारत सरकारका कल्याणकारी पहल समेटिएको ‘भूपू–२०२५’ पत्रिकाको पनि श्रीवास्तवले अनावरण गरेका थिए ।
दूतावासले नेपालका ६ प्रदेशका २९ शैक्षिक संस्थालाई २३ लाख ५ हजार बराबरको पुस्तक प्रदान गरेको छ । २०२४ नोभेम्बर ११ देखि डिसेम्बर ११ सम्म आयोजना गरिएको ‘भारत को जानिये’ (बीकेजे) क्विजमा नेपालबाट शीर्ष ५० स्थान हासिल गरेकाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । दूतावासअन्तर्गतका स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
Facebook Comments