चिनियाँ नाकाबाट सुन तस्करी गर्ने गिरोह सक्रिय, ९२ लाख नगदसहित ३ जना पक्राउ

काठमाडौं । चिनियाँ नाका हुँदै नेपालमा सुन तस्करी गर्ने गिरोह अहिले पनि सक्रिय रूपमा लागेको पाइएको छ। सुरक्षा निकायले त्यस्ता गिरोहलाई पहिचान गरी पटकपटक पक्राउ गरेको भए पनि गिरोह भने अझै सक्रिय रूपमा लागेको दाबी प्रहरीले गरेको छ।

केही समययता अवैध रूपमा सुन तस्करीमा लागेकाहरू सक्रिय भएको सूचना पाएको प्रहरीले बुधबार ९२ लाख नगदसहित ३ जनालाई उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ।

पक्राउ परेका उनीहरू अवैध रूपमा सुन तस्करीमा संलग्न रहेको र उनीहरूले राजधानीमा अवैध रूपमा सुन संकलन गरेर राखेको सूचनाको आधारमा छापा मार्दा ९२ लाख नगद बरामद भएको सो कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।

महाशाखाले रसुवाका जितबहादुर तामाङ र सिन्धुपाल्चोकका रविन धमला र संखुवासभाका सन्तोष खातीलाई फरकफरक ठाउँबाट पक्राउ गरेको थियो ।

प्रहरीले तामाङ र धमलाको साथबाट ७७ लाख र खातीको साथबाट १५ लाख रुपियाँ बरामद गरेको थियो । उनीहरू सुन चाँदी व्यवसायी भएको पनि प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका गिरोहले अवैध रूपमा सुनको कारोबार गर्दै आएको सूचनाको आधारमा छापा मार्दा उक्त नगद फेला परे पनि सुन भने राति अबेरसम्म बरामद हुन सकेको थिएन ।

पक्राउ परेकामध्ये धमलाले रसुवा र काठमाडौंमा सुन पसलसमेत सञ्चालन गर्दै आएका छन् । प्रहरीले बरामद गरेको रकम अवैध सुनको कारोबारपछि संकलित रकम भएको पनि महाशाखाले जनाएको छ ।

Facebook Comments