अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना

वासिङटन डीसी । एक अमेरिकी नागरिक अमेरिकामा चीन सरकारको तर्फबाट गोप्य प्रहरी थाना चलाएको आरोपमा दोषी देखिएका छन् । यसलाई अमेरिकामा प्रकाशमा आएको चीनको पहिलो गोप्य प्रहरी थाना भनिएको छ ।

चेन जिनपिङ र मुद्दाका अर्का आरोपी लु जियानवाङले सन् २०२२ को सुरु देखि नै चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको तर्फबाट म्यानह्याटनको चाइना टाउनमा थाना सञ्चालन गरेको अभियोजनकर्ताहरूले बताएका थिए ।

विश्वका ५३ देशमा कम्तीमा पनि यस्ता सय वटा थानाहरूबारे उजुरी परेको छ । यस्ता थाना चीनले विदेशमा आफ्ना नागरिकमाथि निगरानी गर्न र उनीहरूलाई धम्क्याउन प्रयोग गर्दै आएको अधिकार समूहहरूले आरोप लगाइरहेका छन् ।

तर चीनले भने सो गतिविधिका लागि प्रहरी थाना चलाएको आरोप खण्डन गरेको छ । यी त विदेशमा रहेका आफ्ना नागरिकलाई प्रशासनिक सेवा दिन खोलिएको ‘सेवा थाना’ मात्रै भएको अधिकारीहरूको दाबी छ ।

रामेन स्टलमाथिको पूरै तलामा बनेको यो थानाले चिनियाँ नागरिकको चालक अनुमति पत्र नवीकरण गर्ने जस्ता सामान्य सेवाहरू दिने गरेको तर यसले अमेरिकामा बसिरहेका प्रजातन्त्रवादी अभियन्ताहरू चिन्न सघाउने गरेको पनि सङ्घीय अधिकारीहरूले भनेका छन् ।

सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान थालेपछि सन् २०२२ को शरदमै उक्त थाना बन्द भएको बताइएको छ । छानबिन सुरु भएको थाहा पाएपछि चेन र लुले चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका अधिकारीहरूसँग म्यासेजमा भएका सबै कुराकानी नष्ट गरेको अभियोजनकर्ताहरूको दाबी छ ।

यी दुवै जना अमेरिकी नागरिक हुन् । यिनीहरूलाई गत वर्षको अप्रिलमा पक्राउ गरिएको थियो । बुधवार ६० वर्षका चेन चीनका लागि एजेन्टको रूपमा काम गरेको आरोपमा दोषी भेटिए ।

आगामी वर्ष सजाय सुनाउँदा उनले ५ वर्षसम्मको जेल सजाय भोग्न सक्नेछन् । ५९ वर्षका लु भने दोषी भेटिनन् । उनले आफ्नो सुनवाई कुरिरहेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.