काठमाडौँ । चिनियाँ कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मधेस प्रदेशमा अनधिकृत रूपमा नदी उत्खनन गरेको भन्दै चिनियाँ कम्पनी चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडविरुद्ध मुद्दा दायर भएको हो।
धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्म पूर्व–पश्चिम राजमार्गको चार लेन सडक विस्तारका लागि लहान नगरपालिका र चाइना रेलवेले संरक्षित जङ्गल र खोलाबाट अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेको रिट निवेदनमा उल्लेख गरिएको छ ।
मुद्दा गम्भीर प्रकृतिको भएको भन्दै सर्वोच्चले प्राथमिकता दिँदै सुनुवाइ आइतबार मंसिर १६ गतेका लागि तोकेको छ ।
सर्वोच्च अदालतको नियमावली (२०७४) को नियम ४९ बमोजिम तत्काल यस्तो गतिविधि रोक्न अन्तरिम आदेश जारी गर्न निवेदनमा माग गरिएको छ ।
वातावरण संरक्षण ऐन (२०७६), प्रादेशिक वन ऐन (२०७७) र सम्बन्धित नियमहरू उल्लङ्घन गरेको भन्दै कारबाहीका लागिसमेत माग गरिएको छ ।
यस्ता कार्यले वातावरणीय क्षति हुने भन्दै अन्तरिम आदेशको माग गरिएको हो ।
साथै निवेदनमा लहान नगरपालिकाले वातावरण संरक्षण ऐन र अन्य सान्दर्भिक नियमावली अन्तर्गतको कानूनी व्यवस्थाको उल्लङ्घन गरी सञ्चालन गरिएको तर्क गर्दै वातावरणीय मूल्याङ्कनलाई खारेज गर्न मागसमेत गरिएको छ।
Facebook Comments