चिनियाँ ठेकेदारले महानगरको बोर्ड फालेको मेयर बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाबारे महानगरले राखेको बोर्ड फालेको भन्दै चिनियाँ ठेकेदार कम्पनी सांघाइ कन्स्ट्रक्सन कम्पनीको आलोचना गरेका छन् । चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो फेज(कलंकी-महाराजगञ्ज) को काम सन् २०१५ को अप्रिलमा सक्नु पर्ने थियो ।

निर्माणको जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सांघाइ कन्स्ट्रक्सन कम्पनी(चीन) ले तोकिएको समयमा मात्र नभएर ९ वर्षमा पनि नसकेको र त्यसले महानगरमा असर गरिरहेको बालेनको भनाइ छ ।

यस विषयमा स्थानीय तथा संघीय सांसदहरुले पटकपटक आवाज उठाएको भए पनि कसैको नखाखेको र त्यसबारे जानकारी दिन आफूहरुले राखेको बोर्ड फालिएको भन्दै बालेनले असन्तुष्टि जनाएका छन् ।

‘२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिङरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ,’ बालेनले भनेका छन्, ‘ स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो ।’

आफ्नो अधिकार क्षेत्रमा नपरे पनि त्यसबाट महानगरबासी पीडित भएको र त्यसबारे जानकारी दिन आफूहरुले बोर्ड राखेको उनको भनाइ छ । उनले चिनियाँ ठेकेदारले बोर्ड फालेको आरोप लगाएका छन् ।

‘त्यत्रो आवाज नसुन्ने र त्यत्रो दु:ख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् । समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन्,’ उनले भनेका छन् ।

चीनले त्यसबारे नेपाल सरकारलाई कुटनीतिक नोट लेखेको उनको भनाइ छ । ‘आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनीतिक नोट लेखेछ्न्’ बालेन भन्छन् ।

कोरोनाको समयमा चीनले ४८ घन्टामा १ हजार शय्याको अस्पताल बनाएको थियो । चीनको हुवाङगाङ सहरमा ४८ घण्टाभन्दा कम समयमा कोरोना भाइरसको संक्रमितको उपचारको लागि प्रयोग गर्न एक हजार शय्याको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएको थियो ।

बालेनले आफ्नो देशमा त्यति छोटो समयमा अस्पताल बनाउने चीनले समय सकिएको ९ वर्षमा पनि काम नसक्ने आफ्नो देशको ठेकेदार कम्पनीले काम नगर्दा पनि बोर्ड लगाएको बारे कुटनीतिक नोट पठाएको बालेनको आरोप छ ।

‘यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् । समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस्’ बालेनले भनेका छन् ।

Facebook Comments