एक महिनादेखि प्रमुखविहीन गुलरिया मालपाेत, मुद्दाका कामकाज ठप्प

सन्दिप कुमार बैश्य
बर्दिया । भुमिसुधार तथा मालपाेत कार्यालय गुलरियामा कार्यालय प्रमुख नहुँदा भुमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प भएका छन् । करिब १ महिनादेखि मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा ती कामकाज ठप्प भएकाे निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी नरेश कुमार तिवारीले जानकारी दिए।

उनका अनुसार कार्यालय प्रमुख सरुवा भएको २८ दिन बितिसक्दासमेत अर्का कार्यालय प्रमुख आएका छैनन् । उनले भने,’ भूमि व्यवस्थापन तथा अभिलेख विभागले अहिलेसम्म कार्यालय प्रमुखमा को आउने भनेर टुङ्गाे लगाएकाे छैन।’

निमित्त कार्यालय प्रमुख तिवारीले कार्यालय प्रमुख नहुँदा भुमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प रहेको जानकारी विभागलाई गराएको जानकारी दिए। उनले भने,’यस विषयमा सिडिओ साबलाई समेत भेटेर जानकारी गराएको छु।’

उनले यस विषयमा विभागका उपनिर्देशकसँग पनि कुरा राखेकाे बताए । उनले भने, ‘कार्यालय प्रमुख नपठाउँदासम्म मैले विभागलाई बुधबार बिहान चिठ्ठि लेखेर यही रहेका नायब सुब्बालाई कार्यालय प्रमुख ताेक्न आग्रह गरेकाे छु, अब विभागबाट के निर्णय भएर आउँछ, त्याे भने हेर्ने बाँकी छ।

निमित्त कार्यालय प्रमुख तिवारीले कार्यालय प्रमुख तोक्नको लागि फाइल भुमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको जवाफ पनि विभागबाट आएकाे जानकारी दिए ।

कार्यालय प्रमुख नहुँदा जिल्लाको टाढा टाढाबाट आउने सेवाग्राही दुःख पाएर फर्किन बाध्य भएका छन् । सम्बन्धित निकायको लापरवाहीले सेवाग्राही दुःख पाइरहेकाे सेवा लिन मालपाेतमा आएका मधुवन नगरपालिका वडा नम्बर ७ का सेवाग्राही रमेश थारूले बताए ।

गत फागुन १६ गते मालपोत कार्यालयका कार्यालय प्रमुख मदन घिमिरे सरुवा भएर अन्यत्र गएपछि विभागले अर्को कार्यालय प्रमुख अहिलेसम्म पठाएको छैन । जिल्लाकै बढी भिडभाड हुने मालपाेत कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताए ।

निमित्त कार्यालय प्रमुख तिवारीले कार्यालयमा काम थेग्न नसक्ने गरी दैनिक रूपमा आइरहेकाे पनि जानकारी दिए। उनले भने,’ विभागले कार्यालय प्रमुख नपठाउँदा धेरै काम पेन्डिङ्गमा छ।’ कार्यालय प्रमुख नहुँदा कर्मचारीले तलबसमेत नपाएको उनले गुनासाे गरे । निमित्त कार्यालय प्रमुख तिवारीले सबै काम गर्ने अधिकार निमित्त प्रमुखलाई नभएकाेले भुमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित महत्वपूर्ण कामकाज राेकिएकाे बताए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.