तिब्बती शरणार्थीको ‘धार्मिक स्वतन्त्रता’मा नयाँ सरकारको धरपकड

काठमाडाैं । सत्तामा नयाँ समीकरणपछि बनेको सरकारले काठमाडौं उपत्यकामा रहेका तिब्बती शरणार्थीमाथि झन् कडाइ गरेको छ ।

तिब्बतीहरुले मार्च १० मा मनाउने अप्राइजिङ डे, मार्च १४ मा धार्मिक गतिविधिमा रोक लगाएको सरकारले मार्च २८ मा पनि त्यस्तै खालको धार्मिक क्रियाकलापमा पनि निषेध नै लगाउने गरी प्रस्तुत भएको एक तिब्बती शरणार्थी नेताले बताएका छन् ।

काठमाडौंमा उपत्यकामा विभिन्न समयमा आएका तिब्बती शरणार्थी बसोबास गर्दै आएका छन् । उनीहरु उपत्यकाका विभिन्न क्याम्पमा शरण लिँदै आएका छन् । उनीहरुले विभिन्न विशेष दिनमा प्रदर्शन पनि गर्दै आएका छन् । तर, एक चीन सिद्धान्तमा प्रतिबद्ध रहेको सरकारले उनीहरुको प्रदर्शनमा रोक तथा आवश्यक परेमा धरपकड गर्दै आएको छ ।

यसअघिको सरकारको पालामा आफूहरुमाथि दबाब रहेको बताउँदै ती तिब्बती शरणार्थी नेताले अहिलेको सरकार भने निषेधको शैलीमा नै उत्रिएको जानकारी दिए । ‘हामीले हरेक वर्ष मार्च १० मा अप्राइजिङ डे मनाउँदै आएका छौं, यो वर्ष पनि मैनबत्ती बालेर सामान्य रुपमा मनाउन खोज्दा सरकारले प्रहरी परिचालन नै गरेर बाहिर नै निस्कन नदिने रणनीति अपनाएको छ,’ उनले भने, ‘हामीले आफ्नो धार्मिक स्वतन्त्रता पनि उपभोग गर्न नपाउने हो र ?’ उपत्यकामा रहेका सेटलमेन्ट क्याम्प र कार्यालयहरूमा वर्दीमै प्रहरी परिचालन गरेर थुन्ने कार्य १० मार्चमा गरिएकाे ती नेताले पर्दाफासलाई बताए ।

विगतमा सरकारले तिब्बती शरणार्थीको निगरानीका लागि सादा पोसाकमा ४ जना सुरक्षाकर्मी खटाउने गरेको थियो । यसपटक भने प्रहरी युनिफर्ममा नै रहेका सुरक्षाकर्मी तिब्बती शरणार्थीको सेटलमेन्ट अफिसमा खटाइएको र उनीहरुले मार्च १० र मार्च १४ मा त्यस्ता कार्यालयमा ढोका नै बन्द गरे शरणार्थीलाई बाहिर निस्कन नदिएको ती तिब्बती नेताको भनाइ छ । मार्च २८ हुने आफूहरुको सार्वजनिक पर्वमा सरकारले कडाइ गर्ने नीति लिएको उनले जानकारी दिए ।

चीनले तिब्बतलाई नियन्त्रणमा लिएको दिन १० मार्चलाई तिब्बती धर्मगुरु दलाई लामाका समर्थकले तिब्बत अप्राइजिङ डे को रुपमा मनाउने गरेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले भने तिब्बती शरणार्थीको गतिविधिमा कडाइ गर्न नेपाल सरकारलाई बेलाबेलामा दबाब दिँदै आएका छन् ।

अमेरिकी विदेश मन्त्रालयको सन् २०२१ का लागि अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा पनि तिब्बती समुदायका नेताहरूले आफ्ना धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन निषेध गरिएको र अरू सार्वजनिक पर्वहरू मनाउने क्षमतामा नेपालका सरकारी निकायहरूले नियन्त्रण गरेको बताएको उल्लेख गरिएको थियो ।

‘तिब्बतीहरूमाथि उच्च प्रहरी निगरानी रह्यो र विशेषगरि दलाई लामासँग जोडिएका तिब्बतीहरू र तिब्बती संस्कृति र धार्मिक समारोहहरूको निगरानी गर्ने सुरक्षाकर्मीहरूको संख्या कतिपय अवस्थामा बढेको पाइयो,’ प्रतिवेदनमा उल्लेख थियो ।

Facebook Comments