भारत र भुटानबीचको सम्बन्ध अटुट छ : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’लाई भारतको समर्थन रहेको बताएका छन् ।

भुटान भ्रमणमा रहेको मोदीले शुक्रबार तासिछो जोङ दरबारमा सम्बोधन गर्दै ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ दुवैलाई सफल पार्न भारत सहयोग गर्न तयार रहेको बताएका हुन् । भुटानलाई भारतको समर्थन रहेको बताउँदै मोदिले दुई राष्ट्रका जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्नेमा जोड दिए ।

उनले भारत र भुटानको लक्ष्य समान रहेको बताए । मोदीले भने, ‘भारत र भुटानका युवाहरूको आकाङ्क्षा र लक्ष्यहरू समान छन्। भारतले सन् २०४७ सम्ममा विकसित देश बन्ने लक्ष्य राखेको छ भने भुटानले २०२४ सम्ममा उच्च आय भएको देश बन्ने लक्ष्य राखेको छ। यहाँहरूको यो लक्ष्य पूरा गर्न बिबी अर्थात ब्रान्ड भुटान र भुटान बिलिभ दुवैलाई सफल बनाउन भारतले हरेक पाइलामा सहयोग गर्नेछ। ‘एक अर्ब ४० करोड भारतीयलाई भुटानका मानिस आफ्ना देशका परिवारका सदस्य हुन् भन्ने थाहा छ। भुटानका मानिसहरूलाई पनि थाहा छ कि भारत उनीहको परिवार हो। भारत र भुटानबीचको सम्बन्ध अटुट छ। हाम्रो मित्रता, सम्बन्ध र विश्वास अटुट छ ।’

प्रधानमन्त्री मोदीले सन् २०१४ मा भारतको प्रधानमन्त्रीका रूपमा भुटानको पहिलो भ्रमणको स्मरण गरे। उनले भने ‘भुटान र भारतको सम्बन्ध जति पुरानो छ, त्यति नै नयाँ पनि छ। सन् २०१४ मा प्रधानमन्त्री भएपछि भुटान मैले भ्रमण गरेको पहिलो विदेश थियो। दश वर्ष पहिले म यस देशमा आउँदा पाएको न्यानो स्वागतलाई सम्झन्छु’, उनले भने।

प्रधानमन्त्री मोदीले आफ्ना भुटानी समकक्षी छिरिङ तोब्गेसँग पनि भेववार्ता गरेको छ । भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा गरिएको बताइएको छ। दुई नेताले भारत र भुटानबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ पार्ने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री मोदी र तोब्गेले भेटमा बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरुमा छलफल र नवीकरणीय ऊर्जा, कृषि, वन, वातावरण र पर्यटनजस्ता क्षेत्रमा सहकार्य बढाउने समझदारी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Facebook Comments