पोखरा विमानस्थलको ५ अर्ब ठेकेदारलाई दिलाउन चिनियाँ दुतावास सक्रिय

काठमाडौं। चिनियाँ महँगो ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन भएको १४ महिना वितिसक्यो। तर, अहिलेसम्म व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

अर्बाैको चलखेल गरेर बनाइएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख हुँदा ठूलो भ्रष्टाचार भएको पाइएपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बयान अख्तियारले लिइसकेको छ।

अख्तियारले छानबिन गरिरहेका बेला चिनियाँ दूतावास पनि सक्रिय बनेको पाइएको छ। काम अधुरै रहे पनि चिनियाँ ठेकेदारले पाँच अर्ब भुक्तानी मागिरहेका छन् । सरकारले भुक्तानी रोकेपछि काठमाडौंस्थित चिनियाँ दूतावासले अर्थ मन्त्रालयलाई २३ जनवरीमा पत्र पठाउँदै विमानस्थल हस्तान्तरण भइसकेको र हस्तान्तरण भएपछि छिटपुट काम एक वर्षमा गरिसक्नु पर्नेमा काम २०२३ डिसेम्बर २८ मा सम्पन्न भइसकेको कारण ठेकेदारलाई रकम भुक्तानी दिन’ भनिएको छ।

दूतावासले चिनियाँ एक्जीम बैंकको कुल ऋणको १५ प्रतिशत रकम लैजान पनि अर्थ मन्त्रालयलाई भनेको छ। विमानस्थल निर्माणमा गुणस्तरहीन काम मात्र भएको छैन, कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी आयोगमा छन्। त्यही भएर अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंकखाता पनि रोक्का राखिसकेको छ।

विमानस्थलका लागि ऋण सम्झौताको अवधि २०२४ मे ३१ मा सकिँदैछ। तर, विमानस्थलको १५ प्रतिशत रकम खर्च हुन बाँकी छ। ऋण अवधि समाप्त भएपछि स्वतः रद्द हुने, भएको र हस्तान्तरण भएको एक वर्ष भित्र गरिसक्नुपर्ने काम पनि डिसेम्बरमा सकिएकाले अब पूर्ण रूपमा काम ‘टेक ओभरका’ काम सक्नलाई पत्राचार भएको लेखिएको छ।

विमानस्थलको निर्माणको काम ०१७ जुलाई ११ बाट सुरु भएको थियो। विमानस्थल निर्माण काम चिनियाँ कम्पनी ‘चाइना सिएमसी इन्जिनियरिङ कम्पनीले गरेको थियो।

१२ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुनेगरी स्टीमेट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत बढाएर २४ अर्ब रुपैयाँ कायम गरिएको थियो। चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ २ प्रतिशत ब्याजमा र २ अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वभाविक रुपमा बढाइएको छ। अहिले यो विमानस्थलको लागत २८ अर्ब पुगिसकेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.