चीनसँग जोडिएको बन्दरगाहमा भएको आक्रमणमा सात पाकिस्तानी आतंकवादी मारिए

एजेन्सी । चिनियाँ लगानीको आधारशीला मानिने पाकिस्तानको बन्दरगाह कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका कम्तीमा सात आतंकवादीलाई सुरक्षा बलले बुधबार मारिदिएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानले दशकौँदेखि दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तमा उग्रविद्रोहको सामना गरिरहेको छ। बलुचिस्तानमा इस्लामाबादका विरोधी पृथकतावादीहरूले प्राय: विदेशी लगानीका परियोजनाहरूलाई निशाना बनाइरहन्छन्।

बलुचिस्तानको ग्वादर बन्दरगाह प्राधिकरण परिसरमा ‘घुसपैठ’ को प्रयास गर्ने सात आतंकवादी मारिएको स्थानीय अधिकारी सइद अहमदले बताए। अरब सागरमा रहेको ग्वादर बन्दरगाहको व्यवस्थापन एउटा चिनियाँ फर्मद्वारा गरिएको छ र यसलाई आफ्नो विशाल बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाअन्तर्गत पाकिस्तानमा बेइजिङको मुकुट रत्न मानिन्छ।

सैन्य स्रोतका अनुसार परिसरभित्र कानुन प्रवर्तन चौकीको सुरक्षा दिइरहेका चार सैनिकका साथै सात आतंकवादी मारिएका छन्। ‘आतंकवादीहरूले ग्रेनेड, रकेट लन्चर र कलाश्निकोभले आक्रमण गरेका थिए, उक्त क्षेत्र अब खाली गरिएको छ,’ स्रोतले भन्यो।

बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सरफराज बुगतीले सामाजिक सञ्जाल एक्समा आठ आतंकवादी मारिएको जानकारी दिए। पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बिएलए) ले इमेलमार्फत विज्ञप्ति जारी गर्दै आक्रमणको दाबी गरेको थियो।

बिएलएका प्रवक्ता जियान्द बलुचले सैन्य गुप्तचर कार्यालयलाई निशाना बनाइएको बताएका छन्। गत अगस्टमा बिएलएले चिनियाँ इन्जिनियरहरूलाई बन्दरगाह लैजाँदै गरेको एक सवारीमा आक्रमण गरेको दाबी गरेको थियो।

जातीय बलुच पृथकतावादीहरूले प्राकृतिक स्रोतहरूको विशाल भण्डारको यस क्षेत्रबाट आफ्नो समुदायलाई धनको उचित हिस्सा नदिइएको लामो समयदेखि दाबी गर्दै आएका छन्। उनीहरूले विदेशी लगानीका परियोजनाहरूको सुरक्षा गर्ने पाकिस्तानी सुरक्षा बलहरूलाई प्राय निशाना बनाएका छन्। (रासस/एएफपी)

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.