चिनियाँ सम्पत्ति विकास लगानी नौ प्रतिशतले गिरावट

बेइजिङ । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो दुई महिनामा वार्षिक आधारमा नौ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० करोड युआन (करिब एक खर्ब ६७ अर्ब अमेरिकी डलर) भएको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) ले सोमबार बताएको छ ।

यसै अवधिमा नवनिर्मित सम्पत्तिको बिक्री पनि वार्षिकरूपमा २० दशमलव पाँच प्रतिशतले घटेर ११ करोड ३६ लाख ९० हजार वर्गमिटरमा आएकाले यस क्षेत्रमा लगानीमा घट्ने प्रवृत्ति कायम रहेको छ ।

मूल्यको हिसाबले वार्षिक रूपमा नवनिर्मित सम्पत्तिको बिक्री २९ दशमलव तीन प्रतिशतले घटेर १० खर्ब ५६ अर्ब ६० करोड युआनमा झरेको तथ्याङ्कले देखाएको छ ।

यस वर्षको पहिलो दुई महिनामा देखिएको गिरावट सन् २०२३ को सोही अवधिमा नौ दशमलव छ प्रतिशतको गिरावटको तुलनामा शून्य दशमलव छ प्रतिशतले कम भएको एनबीएसका प्रवक्ता लिउ आइहुवाले पत्रकार सम्मेलनमा बताए ।

सम्पत्ति बिक्री र घरको मूल्य दुवैको तथ्याङ्कका आधारमा चीनको सम्पत्ति बजार अझै समायोजन र रूपान्तरणको प्रक्रियामा रहेको उनले बताए ।

नयाँ शहरीकरणको विकास प्रवृत्ति र रियल इस्टेट बजारमा आपूर्ति र मागमा आएको परिवर्तनलाई अपनाएर चीनले घरजग्गाका लागि नयाँ विकास मोडेललाई बढावा दिने उनको भनाइ थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.