चिनियाँ राजदूतको भेटपछि रास्वपा भयो ब्याक!

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ सँगको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो एजेण्डाबाट ब्याक भएको छ । चिनियाँ राजदूत सोङ २६ पुसमा रास्वपा, कार्यालय वनस्थली पुगेर सभापति रवि लमिछानेसहितका नेताहरुसँग भेट गरेपछि रास्वपा आफ्नो एजेण्डाबाट ब्याक भएको हो ।

उच्च स्रोतका अनुसार राजदूत सोङ सभापति रविका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीसहितका नेताहरुसँग भेट गरेपछि चिनियाँ ठेकेदारले निर्माण गरिरहेकाे नारायणगढ–बुटवल सडकको पदयात्राकाे एजेण्डामा रास्वपा नरम हुँदै गएको छ ।

पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडकखण्ड चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले १७ अर्बको ठेक्कामा विस्तार गरिरहेको छ । तर विस्तार सुरु भएको पाँच वर्षसम्म आधा पनि काम नहुँदा यात्रुले सास्ती भोग्ने गरेका छन्। अहिलेसम्म ४३ प्रतिशत मात्रै काम सकिएकाले यो आयोजनाको काम सकिन अझै कम्तीमा ३ वर्ष लाग्ने अनुमान सडक विभागकै छ ।

जबकि सुरुको लक्ष्य अनुसार २०७८ चैतमा सक्नुपर्ने हो । पछिल्लो पटक थपिएको म्याद २०८१ असारसम्म छ । स्थानीयको विरोधपछि सीमित स्थानमा कालोपत्रे गरिए पनि कतिपय भागमा अहिलेसम्म विस्तारको काम समेत सुरु भएको छैन । माटो खोतलेर छाडिएका कतिपय भागमा पर्खाल लगाउने र नाली हाल्ने काम बाँकी छ भने धेरै ठाउँमा विद्युत्को पोल समेत सारिएको छैन।

सडक विस्तारमा भएको विलम्बका कारण सर्वसाधारणले पाएको सास्तीबारे सरकारको ध्यानाकर्षण होस् भनेर रास्वपाले तीन दिन पैदलयात्रा गरेको थियो । तर सरकारलाई भन्दा बढ्ता दबाब चाहिं छिमेकी चीनलाई परेको स्राेतकाे भनाइ छ । भेटपछि रास्वपाले जारी गरेको प्रेस नोटमा चिनियाँ ठेकेदारले विस्तार गरिरहेको नारायणगढ–बुटवल सडकखण्डको दुरवस्थाबारे ध्यानाकर्षण गराएको उल्लेख छ ।

रास्वपा स्रोतका अनुसार पदयात्रालाई चिनियाँ राजदूतले सहज रूपमा नलिएको प्रष्ट बुझिन्थ्यो । चिनियाँ ठेकेदारले निर्माण गरिरहेको नारायणगढ–बुटवल सडकखण्डमै दबाब यात्रा किन गर्नुपरेको भनेर उनले चासो राखेका थिए ।

‘दबाब यात्रा गर्दा हामीले रणनीतिक तरिकाले सोचेका होइनौं । विकास आयोजना बनाउन सरकारलाई दबाब दिने उद्देश्यले पदयात्रा गरेका थियौं’ रास्वपाका एक नेता भन्छन्, ‘तर चिनियाँ कम्पनीले जिम्मा लिएका आयोजनालाई टार्गेट गरे भन्ने चिनियाँ बुझाइ रहेछ।’

‘हामीले पूर्वाग्रह राखेर दबाब यात्रा गरेका होइनौं, तर हाम्रो यात्राबाट चीन असन्तुष्ट जस्तो देखियो’ एक नेता भन्छन्, ‘अरू आयोजनामा पदयात्रा गरेपछि उसको आशंका पनि हट्ला ।’

चिनियाँ राजदूत सोङलाई भेटेको दुई दिनपछि २८ पुसमा काठमाडौं–८ मा भएको एक कार्यक्रममा रास्वपा सभापति रविले २१ आयोजनामा पदयात्रा गर्ने बताएका थिए । बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले पैदलयात्रा गर्ने २७ वटा आयोजनाको सूची सार्वजनिक गरेको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.