चिनियाँ ऋणको ‘पासो’मा परेको अन्तराष्ट्रिय विमानस्थलको कन्तबिजोग, एक वर्षमा जम्मा ५ अन्तराष्ट्रिय उडान

काठमाडौँ । चिनियाँ ऋणबाट निर्माण गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँचवटा मात्रै अन्तराष्ट्रिय उडान भएका छन् । २०७३ (सन् २०१६) देखि निर्माण सुरु भएर २०७९ पुष १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हालसम्म (पछिल्लो एक वर्षमा) पाँचवटा मात्रै अन्तराष्ट्रिय चार्टर्ड उडान भएका हुन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हालसम्म कुनै पनि व्यवसायिक उडान भएको छैन ।

विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक असार ६ गते चीनको छेन्दुबाट सिचवान एयरलाइन्सले चार्टर्ड उडान गरेको थियो । जुन उडानमार्फत नेपाल–चीन फ्रेन्डसीप ड्रयागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र प्रतिनिधिमण्डल गरी कुल ९६ जना पोखरा अवतरण गरेका थिए । त्यसपछि भदौ २३ गते भुटानको ड्रुक एयरले दोस्रो चार्टर्ड उडान गरेको थियो ।

त्यस्तै, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा तेस्रो अन्तराष्ट्रिय उडानका रुपमा जाजरकोट भुकम्प प्रभावितका लागि राहत सामाग्री लिएको आएको चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो जहाजले अवतरण गरेका थिए । त्यसपछि चौथोपटक मंसिर ७ गते र पाचौँ पटक मंसिर ९ गते माउन्टेन क्रस कन्ट्री कम्पिटिसन रेस प्रतियोगिताका लागि चीनको कुमनिङबाट हिमालयन एयरलाइन्सले पोखरा चार्टर्ड उडान गरेको हो ।

अरबौँ रुपैयाँ चिनियाँ ऋण लगानीमा तामझामका साथ सञ्चालन गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्धेश्यअनुसार प्रयोग हुन नसकेपछि विमानस्थलको भविष्यमाथि नै शंका उत्पन्न भएको छ । विमानस्थल सञ्चालन भएदेखि विमानस्थलको बिजनेश साह्रै कमजोर देखिएको छ । यही कारण पनि नेपाललाई विमानस्थल निर्माणका बेला लिएको चिनियाँ ऋण तिर्न थप चुनौती देखिएको छ ।

यसो त विमानस्थलकै बिजनेशले यो ऋण तिर्न सकिने अवस्था सार्है न्युन छ । चीन छिमेकी मात्र होइन, कुटिल छिमेकी हो । उसले सो ऋण मिनाहा गर्यो नै भने पनि त्यसमा उसको ठुलो स्वार्थ हुन्छ भन्ने बुझ्न गाह्रो छैन । र त यो विमानस्थल नेपाली राष्ट्रिय स्वाभिमानप्रति चिनियाँले खेल्ने क्रिडास्थल होला कि भन्ने तनाव नेपालीहरुलाई छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल बन्नु सार्है राम्रो कुरा हो । तर विमानस्थलका नाममा ऋणको पासोमा परेर नेपाली अर्थतन्त्रमा समस्या हुनु भने गलत कुरा हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.