चिनियाँ गिरोहले म्यानमारमा बनायो नेपालीलाई साइबर स्लेभ

काठमाडौं । म्यानमारको विद्रोही समूहको पकड रहेको क्षेत्र मेओदीमा चिनियाँ गिरोहले क्याम्प नै खडा गरेर ‘अनलाइन स्क्यामिङ’ (ठगी) धन्दा चलाइरहेको छ। म्यानमार प्रशासनकोसमेत पहुँच बाहिर रहेको मओदीबाट चिनियाँ गिरोहले चलाएको ‘अनलाइन स्क्यामिङ’ अपराधमा भने नेपालीहरुलाई प्रयोग गरिएको छ।

चिनियाँहरु बाहिर सबै कुराको व्यवस्थापन गर्छन् तर अनलाइन स्क्यामिङ अपराधमा भने नेपालीहरु प्रत्यक्ष जोडिन्छन्। ताकि भोलिका दिनमा प्रशासनले कारबाही चलाए पनि नेपालीहरुमात्रै फसुन् र आफूहरु उम्कन पाइयोस्। यही अनलाइन स्क्यामिङ धन्दामा नेपालीलाई प्रयोग गर्न आकर्षक प्रलोभन देखाएर म्यानमार पुर्‍याउँदै ‘साइबर स्लेभ’ (डीजीटल दास) बनाउने गरिएको छ।

विशेषगरी कम्युटरसम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिहरुलाई साइबर स्लेभको रुपमा प्रयोग गर्न चिनियाँ गिरोहको टार्गेटमा राख्दै आएका छन्। कम्युटरसम्बन्धी ज्ञान हुनेहरुलाई थाइल्याण्डमा राम्रो रोजगारी दिने भन्दै प्रलोभनमा पारेर थाइल्याण्ड पुर्‍याउने र त्यहाँबाट म्यानमार लगेर साइबर स्लेभ बनाउने गरिएको छ।

नेपालबाट भारत, थाइल्याण्ड हुँदै त्यहाँबाट म्यानमार, लाओस र कम्बोडिया पुर्‍याएर बन्धक बनाइ साइबर दासको रुपमा नेपालीहरुलाई चिनियाँ गिरोह प्रयोग गर्ने गरिको छ। गिरोहका एजेन्टहरुले नेपाली युवायुवतीहरुलाई थाइल्याण्डमा कम्युटरसम्बन्धी रोजगारीका लागि भन्दै प्रतिव्यक्ति २ लाख ६० हजार रुपैयाँ लिएर म्यानमार पुर्‍याउँदै आएका छन्। म्यानमार पुगिसकेपछि मोबाइल, पासपोर्ट नियन्त्रणमा लिने र अवैध अनलाइन स्क्यामिङका लागि केही दिन तालिम दिने गर्छन्। त्यसपछि स्क्यामिङ तथा फ्रडको रुपमा नेपालीहरुलाई प्रयोग गर्ने गरिएको छ।

दक्षिण पूर्वी एसियाका देशहरुमा अनलाइन स्क्यामिङका लागि मानव ओसारपसार हुने गरेको भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले ‘ग्लोबल वार्निङ’ समेत जारी गरेको छ। यति हुँदासमेत विभिन्न प्रलोभनमा पारेर नेपाली युवायुवतीलाई दक्षिण पूर्वी एसियाका देशहरुमा पुर्‍याएर साइबर स्लेभ बनाउने गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धानले देखाएको छ।

भनेको नमाने करेन्ट लगाउँदै यातना, नेपाल फिर्ताका लागि १० लाखसम्म फिरौती
म्यानमार, लाओस, कम्बोडियालगायत देशका विद्रोही समूहको पकड रहेको क्षेत्र तथा विकट ठाउँहरुमा क्याम्प नै खडा गरेर चिनियाँ गिरोह अनलाइन स्क्यामिङको काम गर्दै आइरहेको छ। राज्यको पहुँचसमेत हुन नसक्ने ठाउँहरुमा क्याम्प खडा गरेर राख्ने गरिएको छ। सोही क्याम्पभित्रै खाने, सुत्ने, बस्ने व्यवस्था गरेर सुरक्षा गार्डसमेत राखी नेपालीहरुलाई अनलाइन फ्रड तथा स्क्यामिङहरुमा प्रयोग गर्ने गरेको फिरौती बुझाएर नेपाल फर्केकाहरुले प्रहरी समक्ष बयान दिएका छन्।

सुरुका दिनहरुमा राम्रो व्यवहार गर्ने र पछि उनीहरुले भनेअनुसार काम नगरे कुटपिट गर्ने, यातना दिने, करेन्ट लगाउनेसम्म गरेको पाइएको प्रहरीले जनाएको छ। पछि नेपाल फर्कनसमेत गिरोहले पीडितका परिवारसँग फिरौती माग्ने गरेका छन्। म्यानमारबाट फर्केका अधिकांश जसोले चिनियाँ गिरोहलाई फिरौती बुझाएर फिर्ता भएका छन्। उनीहरुले १० लाख रुपैयाँसम्म फिरौती बुझाएर नेपाल फर्केको प्रहरी समक्ष बताएका छन्। त्यो पनि अवैध क्रिप्टोकरेन्सीमार्फत् रकम हाल्न लगाएर फिरौती बुझेपछि मात्रै चिनियाँ गिरोहले आफ्नो नियन्त्रणमा रहेकाहरुलाई छाड्ने गरेका छन्।

२४ जनाको उद्धार, ३ चिनियाँसहित १९ पक्राउ
साइबर स्लेभको रुपमा दक्षिण पूर्वी एसियाका देशहरु म्यानमार, लाओस र कम्बोडियामा बन्धक बनाइएका २४ नेपालीहरुको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उद्धार गरेको छ। २४ नेपालीलाई उद्धार गरेसँगै उनीहरुलाई पठाउने गिरोहका १९ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ। जसमा ३ जना चिनियाँ नागरिक र १६ जना चिनियाँका नेपाली एजेन्टहरु रहेको ब्यूरोका एसएसपी जीवन श्रेष्ठले बताए। पक्राउ गरेर मुद्दा चलाइएकामध्ये १३ जना पुरुष र ६ जना महिला छन्।

१९ जनाविरुद्ध १५ वटा मुद्दा चलाइएको छ। जसमा म्यानमारमा बन्धक बनाइर साइबर स्लेभ बनाएको आरोपमा ९, लाओसमा ३ र कम्बोडियामा स्लेभ बनाएको आरोपमा ३ गरी १५ वटा मुद्दा दर्ताको ब्यूरोका एसएसपी श्रेष्ठले जानकारी दिए।

१३ नेपाली अझै चिनियाँ गिरोहको कब्जामा
म्यानमारमा अझै १३ जना नेपालीहरु चिनियाँ गिराहको कब्जामा रहेको सूचना आएको ब्यूरोका एसएसपी श्रेष्ठले जानकारी दिए। ‘अपुष्ट सूचनाअनुसार त धेरै नेपालीहरु चिनियाँको कब्जामा रहेको भन्ने छ तर अहिलेसम्म आएका सूचनाको आधिकारिकता मान्दा १३ जना नेपाली म्यानमार बन्धक रहेको देखिन्छ’ एसएसपी श्रेष्ठले भने।

उनीहरुको उद्धार तथा नेपाल फिर्ताका लागि निरन्तर प्रयास भइरहेको ब्यूरोले जनाएको छ। नेपाली फिर्ता ल्याउनसमेत चिनियाँ गिरोहलाई फिरौती बुझाउनुपर्ने अवस्थामा आएको पीडितहरुले प्रहरीलाई बताएका छन्। अवैध च्यानलमार्फत् रकम हाल्न लगाएको तर त्यसका लागि आफूहरुसँग रकम नभएको भन्दै पीडितले ब्यूरोलाई महिनादेखि गुहारिरहेका छन्। प्रहरीले उद्धारका लागि निरन्तर सक्रियता देखाए पनि अहिलेसम्म उद्धार हुन सकेको छैन।

कुटनीतिक पहल फितलो हुँदा उद्धारमा कठिनाई : प्रहरी
आफ्नो कब्जामा लिएर डिजिटल दास बनाएका नेपालीहरुको उद्धारका लागि सक्दो पहल भएको प्रहरीले जनाएको छ। व्यक्तिगत सम्बन्धको आधारमा म्यानमारका सुरक्षाकर्मीसँग पहल गर्नेदेखि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् पनि उद्धारका लागि पहल गरिएको मानव बेचबिखन ब्यूरोको भनाइ छ।

तर, यतिले पजि चिनियाँ गिरोहको कब्जामा रहेका नेपालीहरुको उद्धार हुन नसकेपछि कुटनीतिक माध्यममार्फत् उद्धारका लागि प्रहरीले पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै उद्धार गर्नुपर्ने बताइए पनि चिनियाँको कब्जामा रहेका नेपालीहरुको अहिलेसम्म उद्धार हुन सकेको छैन।

‘प्रहरीको एकल प्रयासबाट सफल नभएपछि कुटनीतिक माध्यममार्फत् उद्धारका लागि हामीले पत्राचार गरिरहेकै छौं। तर पनि अहिलेसम्म उद्धार हुन सकेको छैन,’ ब्यूरो स्रोतले भन्यो। प्रहरीले सोझै कुटनीतिक पहल फितलो नभएको नबताए पनि परराष्ट्रटलाई पत्राचार गराउँदासमेत अहिलेसम्म उद्धार हुन नसक्नुले कुटनीतिक पहल फितलो भएको प्रष्ट हुन्छ।

म्यानमारको मात्रै होइन रुसी सेनामा भर्ना भएका नेपाली, युक्रनेको कब्जामा रहेका नेपाली तथा हमासको नियन्त्रणमा रहेका विपीन जोशी अहिलेसम्म रिहा हुन नसक्नुले पनि कुटनीतिक पहलको अवस्थालाई छर्लङ्ग पारेको छ। साभार नेपाल लाइभ

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.