भ्रष्टाचार गर्ने पूर्व बैंक म्यानेजरलाई चीनमा जन्म कैद

काठमाडौं । चीनका एक पूर्व बैंक म्यानेजरलाई देशको सबैभन्दा ठूलो भ्रष्टाचार गरेको अभियोगमा आजीवन काराबासको सजाय भएको छ । १९९३ देखि २००१ सम्म दक्षिणी चीनमास्थित बैंक अफ चाइनाका शाखा प्रमुख जू गुओजुनलाई २.३ बिलियन युआन अर्थात् ४३ अर्ब २२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा दोषी ठहर गर्दै जन्मकैद भएको हो ।

यो चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी कार्यक्रमको नयाँ विकास भएको बताइएको छ । जसको वित्तीय कोषमा ६० ट्रिलियन डलर सञ्चित छ । यो कारबाहीमा अन्य कैयौँ बैंकिङ अधिकारीहरु समेत परेका छन् ।

त्यहाँको विशेष अदालतका अनुसार जू र बैंक अफ चाइनाका अन्य दुई पूर्व कर्मचारीले फर्जी ऋण प्राप्त गर्न नीतिगत कमजोरीको फाइदा उठाएका थिए । जू’का दुई सहयोगीलाई पहिल्यै १२ र १३ वर्षको जेल सजाय सुनाइसकेको अधिकारीहरुले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चोरी भएको दुई अर्ब युआनभन्दा बढी रकम समेत बरामद भएको छ । त्यसरी बदमासी गर्ने जू २००१ मा अमेरिका भागेका थिए । तर, दुई वर्षअघि अमेरिकाले डिपोर्ट गर्दिएको थियो ।
उनलाई आजीवन काराबासको सजायसँगै सम्पूर्ण सम्पत्ति जफत भएको छ भने जीवनभर राजनीतिक अधिकारबाट पनि वञ्चित गराइएको छ । चिनियाँ राज्यको स्वामित्व रहेको बैंकका अन्य उच्चपदस्थ अधिकारीमाथि समेत जरिवाना लागेको छ । अक्टूबरमा बैंक अफ चाइनाका एक पूर्व अध्यक्ष घुसखोरी र अवैध ऋण जारी गरेकोमा पक्राउ परेका थिए ।

राष्ट्रपति सीले भनेका छन्, ‘बेजिइङका बैंकरहरुको विलाशी जीवन शैलीमाथि लगाम कस्न जरुरी छ ।’ नभन्दै सरकारी स्वामित्वको बैंकका अध्यक्ष लियू लियांगेले यसै वर्षको मार्चमा पदबाट राजीनामा दिएका थिए । हालै सेप्टेम्बरमा चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष वांग बिनलाई समेत घुस खाएको आरोपमा आजीवन काराबासको सजाय भएको छ । –एजेन्सीको सहयोगमा

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.