उपत्यकामा जमिन बाँझो नराख्ने नीति

काठमाडौं । काठमाडौँ र ललितपुर महानगरपालिकाले उपत्यकाका सबै नगरपालिकाको साझा समस्यालाई सम्बोधन गर्ने गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारी गरिरहेका छन् । कोरोना भाइरस रोग (कोभिड–१९) बाट सिर्जित समस्याको समाधान गर्दै उत्पादन र रोजगारमूलक कार्यमा केन्द्रित हुने गरी दुवै महानगरपालिका आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारीमा जुटेका हुन् ।

खेतीयोग्य जमिनको सदुपयोग गर्न र क्वारेन्टाइनको व्यवस्थापनका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका १८ वटै पालिकालाई एउटै एकाइ मान्दै ती क्षेत्रका खेतीयोग्य जमिन बाँझो नराख्ने नीति निर्माणको आन्तरिक तयारीमा जुटेको दुवै महानगरपालिकाले जनाएका छन् ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा दुईवटा महानगर र १६ वटा नगरपालिका रहेका छन् । काठमाडौँ र ललितपुर महानगरबाहिर ठूलो मात्रामा खेतीयोग्य जमिन बाँझो रहेकाले ती क्षेत्रका बाँझो जमिनलाई अनिवार्य रूपमा सदुपयोग गर्ने र त्यसका लागि सबै पालिकाले साझा कोष निर्माण गर्ने गरी दुवै महानगरले आगामी वर्षको बजेट निर्माण गर्ने गृहकार्य गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् ।

Facebook Comments