चीनमा कोरियाली नागरिकलाई मृत्युदण्ड

एजेन्सी । चीनले लागुऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियाली नागरिकलाई मृत्युदण्ड दिएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार करिब एक दशकमा उक्त देशका नागरिकलाई पहिलोपटक यस्तो सजाय दिइएको हो ।

चीनको दक्षिणी सहर गुआन्झाउको अदालतले सुनाएको फैसलाबमोजिम दक्षिण कोरियाली प्रतिवादीलाई लागुऔषध तस्करी गरेको दोषमा मृत्युदण्ड दिइएको, विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । चिनियाँ भूमिमा अपराध गर्ने जुनसुकै देशका नागरिकमाथि चिनियाँ कानुनअनुसार समान रूपमा कारबाही हुने उक्त मन्त्रालयले स्पष्ट गरेको छ ।

दक्षिण कोरियाली विदेश मन्त्रालयका एक अधिकारीले चीनमा लागुऔषध बेचेको आरोपमा मृत्युदण्डको सजाय पाएका आफ्ना कोरियाली नागरिकलाई शुक्रबार मृत्युदण्ड दिइएको पुष्टि गर्दै उनले आफ्ना नागरिकलाई मृत्युदण्ड दिइएकामा खेद व्यक्त गरेका छन् ।

‘कोरिया सरकारले मृत्युदण्डको सजायको घोषणा गरेदेखि नै मानवीय आधारमा मृत्युदण्डमा पुनर्विचार वा स्थगन गर्न विभिन्न माध्यमबाट धेरै अनुरोध गरेको थियो, तर त्यो कार्यान्वयन नभएकामा हामी खेद प्रकट गर्छौं,’ ती अधिकारीले भनेका छन् । यद्यपि ती उनले यो मृत्युदण्ड ‘चीन र दक्षिण कोरियाबीचको सम्बन्धसँग सम्बन्धित नभएको’ बताएका छन् ।

दक्षिण कोरियाको योनहाप समाचार समितिका अनुसार चीनले नौ वर्षमा लागुऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियालीलाई मृत्युदण्ड दिएको यो पहिलो घटना हो । मृत्युदण्ड पाएका ती व्यक्तिलाई पाँच किलोग्राम मेथाम्फेटामाइनसहित सन् २०१४ मा चीनमा पक्राउ गरिएको थियो । उनलाई २०१९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.