काठमाडाैं । कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले नेपाल वायुसेवा निगमले लिएकाे ऋण नतिरेकाे दाबी गर्दै एक सञ्चारमाध्यममा अन्तरवार्ता दिएपछि खैलाबैला मचिएकाे छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको साँवा ब्याजको किस्ता नियमित रुपमा तिरिरहेको प्रष्ट पारेका छन् ।
सञ्चय कोषका प्रशासक धितालकाे दाबीलाई खण्डन गर्दै निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता बापत कर्मचारी सञ्चय कोषलाई यसै वर्ष तीन अर्ब रुपैयाँ भुक्तानी गरिएको जनाएको छ ।
निगमले नेपाल सत्यलाई दिएकाे जानकारीअनुसार २०७९ को असारदेखि २०८० को असारसम्म जहाजको किस्ता बापत २ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ भुक्तानी गरिसकिएकाे छ ।
निगमका प्रवक्ता रमेश पौडेलले सञ्चय कोषबाट निगमले लिएकाे ऋणकाे किस्ता निरन्तर तिर्दै आएकाे जानकारी बताए । एक वर्षको अवधिमा झन्डै ३ अर्ब रुपैयाँ भुक्तानी हुँदा समेत कोषले किस्ता नै नपाएको भन्नु कोषकाे कमजाेरी रहेकाे जानकारी दिए ।
एक वर्षको अवधिमा कर्मचारी संचय कोषलाई झन्डै ३ अर्ब रुपैयाँ ऋण बक्यौता भुक्तानी गरेकाे निगमका प्रवक्ता पौडेलले बताए। उनले भने, ‘विस्तारै कमाउदै र निगमको नियमित खर्च धान्दै कोषको बक्यौता समेत तिरिरहेको अहिलेको सुधारोन्मुख अवस्थामा नकारात्मक टीका टिप्पणी हुनु दुखलाग्दो कुरा हो।’
‘हामीले झन्डै ३ अर्ब बक्यौता रकम भुक्तानी गरिसक्यौँ,’प्रवक्ता पौडेलले थप्दै भने,‘किस्ता तिरेको छैन भनेर गलत रुपमा टिप्पणी हुनु राम्रो कुरा हैन।’ निगमले किस्ता बापतको रकम कोषको हिमालयन बैंकमा रहेको खातामा जम्मा गरिएको बताएको छ।
उनले हामीले ऋण तिरिरहेका छाैं, हामीसँग त्यसकाे प्रमाण रहेकाे जानकारी दिए ।
उनले निगमले किस्ता बापतको रकम कोषको हिमालयन बैंकमा रहेको खातामा जम्मा भइरहेको जानकारी गराए । उनका अनुसार निगमले २०७९ को असारमा न्यारोवडी जहाजको ९एयबस ३२०० असारमा ४ करोड ५० लाख, असोजमा ३३ करोड ९५ लाख ५ हजार २८१ रूपैयाँ, पुसमा ३३ करोड ९५ लाख ५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको बताए ।
यस्तै, २०७९ को चैतमा ३३ करोड ९५ लाख ५ हजार २८१ रूपैयाँ र २०८० को असारमा ३३ करोड ९५ लाख ५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको जानकारी दिए ।
निगमले एक वर्षको अवधिमा न्यारोवडी जहाज खरिद गर्दा लिएको ऋणको १ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ भुक्तानी गरेको देखिएको छ ।
यस्तै, वाइडबडी जहाज ९एयरबस ३३०० खरिद गर्दा लिएको ऋणको किस्ता बापत एक वर्षको अबधिमा निगमले १ अर्ब भुक्तानी गरेको छ ।
निगमले २०७९ को असारमा ४५ करोड, असोजमा २० करोड, चैतमा १ करोड र २०८० को असारमा २५ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गरेको छ ।
यसरी निगमले पैसा भुक्तानी गरेकाे प्रमाण देखाउँदा पनि सञ्चय कोषका प्रशासक धितालले ऋण भुक्तानी नभएकाे दाबी गर्दै सञ्चारमाध्यममा अन्तरवार्ता दिएपछि आम जनमानसमा गलत सन्देश गएकाे छ ।
यसरी एउटा सरकारी निकायले अर्काे सरकारी निकायलाई भुक्तानी गरेकाे पैसा नपाएकाे दाबी गरेपछि आम जनमानस काे माथि विश्वास गर्ने? भन्ने प्रश्न उब्जिएकाे छ । अब सञ्चय कोषमाथि सर्वसाधारण कसरी विश्वास गर्ने?
Facebook Comments