चीन र इयूबीचकाे व्यापारमा बढ्याे असहमति

एजेन्सी । चीनले युरोपेली संघ (इयू)का विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको भ्रमण रद्द गरेको छ। चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो।

चीनका लागि युरोपेली संघका राजदूत जर्ज टोलेडोले जोसेप बोरेल चिनियाँ विदेशमन्त्री छिन गङ र अन्य अधिकारीसँग वार्ता गर्न सोमबार बेइजिङमा अवतरण गर्ने कार्यक्रम रहेकामा त्यो रद्द भएको बताएका छन्। चिनियाँ र युरोपेली कूटनीतिज्ञ व्यापार, मानव अधिकार र रुस–युक्रेन जारी द्वन्द्वमा चीनको अडानलगायत विषयमा छलफल गर्ने ‘एजेन्डा’मा काम गरिरहेका थिए।

चीनले बोरेलको भ्रमण रद्द गरेको युरोपेली संघले औपचारिक रूपमा जनाएको छ, तर भ्रमण रद्द गर्नुको कारण भने खुलाइएको छैन। चिनियाँ पक्षले नै भ्रमण रद्द हुनुको कारणबारे जानकारी नदिएको जनाइएको छ। नयाँ मितिमा बोरेलको भ्रमण हुने अपेक्षा गरिएको संघका प्रवक्ता नबिला मस्रालीले बताएकी छिन्।

यसैबीच, चिनियाँ विदेशमन्त्रीका प्रवक्ता वाङ वेनबिनले पनि इयूसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताउँदै दुवै पक्षलाई सहज हुने मितिमा उच्च प्रतिनिधि बोरेललाई चीनमा स्वागत गरिने स्पष्ट गरेका छन् । इयूसँग विभिन्न क्षेत्रमा र सबै तहमा भ्रमण आदान–प्रदान गर्न चीन इच्छुक रहेको बताउँदै उनले ब्रसेल्ससँग बेइजिङ सम्पर्कमा रहिरहने स्पष्ट गरे।

युरोपेली संघका सदस्य राष्ट्रको शिखर सम्मेलनले चीनबाहेक अन्य स्रोतबाट महत्वपूर्ण सामग्री खरिद गर्ने रणनीतिप्रति समर्थन जनाएपछि बेइजिङ बिच्किएको अनुमान गरिएको छ। चिनियाँ व्यापार र आपूर्ति शृंखलामा निर्भरता कम गर्ने युरोपेली संघको निर्णयप्रति पनि उसको विमति छ।

जोसेप बोरेल युक्रेन द्वन्द्वमा चीनको अडानको विशेष आलोचक हुन्। इयूले ताइवान मामिलाप्रति बेइजिङको रवैयालाई लिएर असहमति जनाउँदै आएको छ। बेइजिङले बल प्रयोग गरेर भए पनि ताइपेईलाई तह लगाउने धम्की दिँदै आएको छ।

इयूले युक्रेनबाट तत्काल र बिनासर्त आफ्ना सेना फिर्ता गर्न रुसलाई दबाब दिन चीनलाई आग्रह गर्दै आएको छ। चीन भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले त्यस्तै अनुरोध गरेका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.