स्वेच्छाचारी रुपमा पक्राउ नगर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई स्वेच्छाचारी रुपमा पक्राउ नगर्न र गैरकानूनी रुपमा थुनामा नराख्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेद भट्टराईले आइतबार विज्ञप्ति जारी गरी खोटाङका चक्रबहादुर खत्रीलाई लकडाउनको समयमा पनि प्रहरीले वैशाख २ देखि हालसम्म ६ पटक स्वेच्छाचारी रुपमा पक्राउ गरी खोटाङ, उदयपुर, पुनः खोटाङ र सोलुखुम्बु हुँदै सिराहा पु-याएको र गैरकानूनी थुनामा राखेको भन्दै त्यसो नगर्न आग्रह गरेको हो ।

‘…निज खत्रीलगायत अन्य कुनै पनि व्यक्तिलाई स्वेच्छाचारी रुपमा पक्राउ नगर्न तथा गैह्रकानुनी थुनामा राख्ने कार्य बन्द गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ । खत्री सर्वोच्च अदालतको जेठ २३ गतेको आदेशबमोजिम आइतबार मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहबरमा आयोग परिसर हरिहरभवनबाट छुटेका छन् ।

वैशाख २ गते पक्राउ परेका खत्रीको अवस्थाबारे परिवारलाई जानकारी समेत नदिई स्थिति अज्ञात पारिएको, खत्रीउपर अपमानजनक व्यवहार गरिएको र सर्वोच्च अदालतबाट पटकपटक जारी भएका आदेशहरुको बेवास्ता गरिएको भन्दै आयोगले जेठ १६ गते गृह मन्त्रालयसँग चौबीस घण्टाभित्र जवाफ माग गरेको थियो ।

Facebook Comments