१९ वर्षीय युवकको क्वारेन्टाइनमा मृत्यु

डोटी । केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टाइनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको उनका बुबा गजैसिं ऐरले बताए ।

भारतको दिल्लीबाट उनी जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थिए । ‘१२/१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ”, मृतकका बुवा ऐरले भने, “क्वारेन्टाइनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो ।”

छोरा ढलेपछि स्याहार गर्न बुवा आफैँ क्वारेन्टाइन बस्ने शर्तमा भित्र पसेका थिए । “गाउँमा सामान्य झारफुक र पानी छम्केपछि छोरा अलि होसमा आउँथ्यो”, उनले भने, “पहिले पनि यस्तै हुने हुँदा रातिको समय हामीले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ तर राति झन् च्यापेपछि शरीरमै दिसापिसाव र रगत फालेपछि बिहान ३ बजे प्राण त्याग्यो ।” मृतकका बुवा पनि गए रातिबाट क्वारेन्टाइनमै बसेका छन् । रासस

Facebook Comments