आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर छ भने भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र सरदर स्थानमा रहेको छ । जसकारण हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ। राती सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.