बजेट बाँडफाँडमा संतुलन भएन भने सर्वोच्च अदालतमा मुद्दा हाल्छौं: सांसद यादव

काठमाडाैँ । समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संघीय सरकारले प्रदेशहरूलाई संतुलित ढंगले बजेट नदिएको बताएका छन्। शनिबार प्रतिनिधिसभा संसदमा खर्च कटौती प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद यादवले यस्ताे बताएका हुन्।

प्रदेश २ मा गरिबी दर बढी भए पनि बजेट बाँडफाँडमा विभेद गरिएको उनले बताए। ‘प्रदेश २ ले जम्मा दुई करोड पाउने कर्णाली, गण्डकी, सुदुरपश्चिम लगायतले अरबभन्दा धेरै पाउने?,’ उनले प्रश्न गरे।

उनले प्रदेश २ मा संघले बजेट दिन नखोजेको कि बाँडफाडमा फर्मुला नमिलेको भन्ने प्रश्न अर्थमन्त्रीलाई राखेका छन्। ‘प्रदेश २ लाई भिकारीजस्तो खोजेको हो कि मधेशी भएर हेप्न खोजेको अर्थमन्त्रीजीले?,’ उनले प्रश्न गरे।

‘संघीयता फेल गराउने बजेट ल्याएको महशुस भएको छ,’ उनले भने, ‘प्रदेश २ का नागरिक यो देशका हुन् कि होइनन्। मधेशीसँग किन सौतेनी व्यवहार?’

‘बजेट बाँडफाँडमा संतुलन भएन भने सर्वोच्च अदालतमा मुद्दा हाल्छौं,’ सांसद यादवले भने। उनले सुरूदेखि नै संघले प्रदेश २ लाई विभेद गरिरहेको बताए।

‘प्रदेश २ का सरकार फेल गर्न छानिछानि कर्मचारी संघले पठाउँछ। कामै नलाग्ने कर्मचारी पठाइएको छ। कि प्रदेशलाई कर्मचारी नियुक्त गर्ने अधिकार देऊ कि काम लाग्ने कर्मचारी पठाऊ,’ उनले भने।

उनले प्रदेश २ लाई सबैभन्दा कम अनुदान किन भन्ने प्रश्न पनि गरेका छन्। ‘आफ्नै ठाउँ र गाउँमा बजेट दिने। जनसंख्या र गरिबी भएको प्रदेशलाई कम बजेट, यति अन्याय किन?,’ सांसद यादवको प्रश्न छ। ८९ प्रतिशत बजेट केन्द्रमा र ११ प्रतिशत प्रदेश तथा स्थानीय तहमा राखेर संघीयताविरोधी बजेट सरकारले ल्याएको उनको आरोप छ।

Facebook Comments