शुक्रवार, बैशाख २ २०७९
काठमाडौं – बुधबार एमालेले राप्रपा नेपाल र परिवार दललाई आफ्नो पार्टीको चुनाव चिन्ह सूर्य लिएर स्थानीय तहमा जान सक्ने सहमति गर्यो ।
एमालेको सो निर्णयपछि नेता भीम रावलले कडा आपत्ति जनाए । उनले बिहीबार सामाजिक सञ्जालमा एमालेको चुनाव चिन्ह सूर्य बिक्रीमा रहेको भन्दै नेतृत्वप्रति आपत्ति जनाए ।
लगत्तै एमाले महासचिव शंकर पोखरेलले सूर्य चुनाव चिन्हमा अरु दलले चुनाप लडे आपत्ति जनाउन नपर्ने भन्दै सामान्य भएको बचाउ गरे । बिहीबार नै निर्वाचन आयोगले जुन चिह्नबाट चुनाव लड्छ, उक्त व्यक्ति सोही पार्टीको हुने स्पष्ट पारेको छ ।
राप्रपा नेपाल र परिवार दलले सूर्य चिह्नबाट चुनाव लड्ने गरी तालमेलका लागि एमालेसँग सहमति गरेको अर्को दिन आयोगको भनाइ आएको हो । ‘सम्बन्धित पार्टीको आधिकारिक व्यक्तिले दस्तखत गरेर दिएको अवस्थामा त्यो उम्मेदवार हुन सक्ने हो । कुन व्यक्ति कुन दलमा छ भन्ने विषय आयोगलाई जानकारी हुँदैन ।
आयोगलाई सम्बन्धित दलको आधिकारिक व्यक्तिले टिकट दिएपछि त्यो व्यक्ति चुनाव लड्न पाउने हो,’ आयोग प्रवक्ता शालिग्राम पौडेलले भने, ‘उदाहरणका लागि कुनै पार्टीको चुनावचिह्न क्यामेरा छ । उक्त पार्टीको चुनावचिह्न क्यामेराबाट निर्वाचन लडेपछि चुनाव लड्ने व्यक्ति क्यामेरा चिह्न भएकै पार्टीको मान्छे हो भनेर आयोगले बुझ्छ ।’
त्यसैले चुनावपछि राप्रपा नेपाल अनौपचारिक ढंगले एमालेमा विलय भएको मानिने छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा स्वतन्त्र रहँदैनन् । एमालेकै कार्यकर्तासरह हुनेछन् ।
अघिल्लो निर्वाचनमा हृदयेश त्रिपाठी पनि एमालेको चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । पाँच वर्ष एमालेकै पार्टीको खटनपटनमा चले । अहिले अर्को पार्टी खोलेका छन् । सो पार्टीबाट चुनाव जितेका दुई सांसद अहिले एमाले प्रवेश गरेका छन् ।











Facebook Comments