ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिका–६ स्थित हिलेपानी नजिकै भँडारेखोलामा बुधबार बिहान जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बा १७ च १०९४ नम्बरको जिप सोलुखुम्बुबाट विराटनगर हिँडेको थियो । घटनामा सवारी चालकबाहेक ८ जना प्रहरी रहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक लंक श्रेष्ठले बताए । जिप सडकदेखि अन्दाजी सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनामा मृत्यु भएका र घाइतेहरुको पूर्ण विवरण आउन समय लाग्ने घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले बताए ।
जनसेवा अस्पताल घुर्मी र आस्था अस्पताल उदयपुरको घुर्मीमा घाइतेहरुको उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।
Facebook Comments