मानव शरीरको सिङ्गोे हड्डीसहित एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी पक्राउ

 

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रानीले मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो ।

सिन्हा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत रहेको प्रहरीले बताएको छ । उनको साथबाट प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र पनि फेला पारेको छ । पढाइ सकेर घर फर्कने क्रममा सिन्हाले कार्टुनमा लुकाएर भारत लैजादै गरेको अवस्थामा कङ्काल फेला थियो ।

सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेका अनुसार सिन्हाको साथबाट एउटा मानिसको सिङ्गो शरीरको हड्डी बरामद भएको छ । सिन्हाको साथबाट मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १÷१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८÷८ वटा बरामद भएको उनले बताए ।

 

पक्राउ परेका युवकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्ने पुराना विद्यार्थीबाट अध्ययनका लागि मानव कङ्काल पाएको र पढाइ सकिएपछि घर फर्कने क्रममा लान लगेको बताएका छन् । उनले मानवको हड्डी लगेको विषयमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई जानकारी नगराएको बताए ।

‘एमबीबीएस अध्ययन गर्दा अग्रज साथीबाट लिएको थिएँ,’ उनको भनाइ उधृत गर्दै प्रहरीले भन्यो, ‘अरुसँग पनि छ ।’
नेपाल भारत सीमा नाकाबाट पक्राउ परेका सिन्हालाई सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

सशस्त्रले गत असोज १८ गते भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा विराटनगर–१५ बाटै मावन खप्परका टुक्राजस्तो २८ वटा र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० वटा बरामद गरेको थियो।

Facebook Comments