भारतीय सहयोगमा ताप्लेजुङमा निर्मित विद्यालय भवन उद्घाटन

ताप्लेजुङ – भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनामस्थिते श्री सिनाम उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । सोमबार पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले विद्यालय भवन उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य भूपेन्द्र थेवे, भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रा, स्थानीय तहका प्रतिनिधि, शिक्षक र विद्यार्थी सहभागी थिए ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्ये विद्यालय पनि एक रहेको भारतीय राजदूतावासले जनाएको छ ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको ३ करोड १० लाख रुपैयाँ लागतमा दुईतले विद्यालय भवन निर्माण भएको हो । सन् १९५० मा स्थापना भएको विद्यालयमा हाल १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये ताप्लेजुङका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । भारत सरकारले ताप्लेजुङका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ ।

‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ भारतीय राजदूतावासका प्रवक्ता नवीन कुमारले भने।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.