भारतले मधेश प्रदेशका तीन जिल्लामा ग्यास चुल्हो र सिलिन्डर दिने

काठमाडाैँ – भारत सरकारले मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरीका पिछडिएका घरपरिवारलाई एलपी ग्यास चुल्हो, ग्यास सिलिन्डर लगायत सामग्री उपलब्ध गराउने भएको छ।

भारत सरकारको २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा मधेस प्रदेशका तीन जिल्लामा ३००० वटा एलपी ग्यास चुल्हो, ग्यास सिलिन्डर लगायतका सामग्री नेपाल–भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराइने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

दूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच तराईका जिल्लामा सहायता सामग्री उपलब्ध गराउनेसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत उक्त समझदारी पत्रमा हस्ताक्षर भएको दूतावासले जनाएको छ।

उक्त योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डिया–७५ आजादीका अमृत महोत्सव’ अन्र्तगत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक रहेको दूतावासले जनाएको छ।

दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एलपी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्न हेतु भारत सरकारले ल्याएको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो योजना प्रेरित रहेको दूतावासले उल्लेख गरेको छ।

सन् २००३ यता भारतले नेपालमा स्वस्थ्य, शिक्षा, खानेपानी तथा सिचाइ, विद्युतीकरण आदिका क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको भारतीय दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ। जसमध्ये ४६७ वटा सम्पन्न भइसकेको बताइएको छ। ती मध्ये सर्लाहीका १९, रौतहटका ५ र सप्तरीका ९ गरी मधेस प्रदेशमा ८१ वटा छन्।

यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ।

‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहु क्षेत्रीय सहकार्य रहेको छ। यस योजनाको कार्यान्वयनले जनताको जीवनस्तरलाई उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

Facebook Comments