प्रदेश २ मा कोरोना संक्रमितको संख्या झण्डै एक हजार

महोत्तरी दिनहुँ संक्रमण बढ्दै गएपछि प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ। बिहीबार थप एक सय दुई जनामा संक्रमण पुष्टि भएपछि प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या नौ सय ६१ पुगेको प्रदेश २ को स्वास्थ्य निर्देशनालय जनकपुरले जनाएको छ।

प्रदेश २ का आठ जिल्लामा जेठ तेस्रो सातामा मात्रै पाँचसय संक्रमित थपिएका छन्। जेठ दोस्रो साताको अन्त्यमा पाँचसय भन्दा कम रहेको सङ्क्रमितको सङ्ख्या तेस्रो साता सकिँदा एक हजार नजिक पुगेको हो। यसरी थपिएका नयाँ सङ्क्रमितमध्ये धेरैजसो भारतबाट भर्खरै घर फर्केका भएका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

प्रदेशका आठ जिल्लामध्ये अहिले सबैभन्दा बढी संक्रमित रौतहटका छन्। बिहीबारसम्म प्रदेशका कूल सङ्क्रमण पुष्टि भएका नौ सय ६१ मध्ये रौतहटमा मात्रै ३ सय ८४ छन्। प्रदेशको हालसम्मको तथ्याङ्कमा रौतहटपछि क्रमशः सर्लाहीमा १४९, पर्सामा १११, धनुषामा ८८, सप्तरीमा ६९, बारामा ६७, सिरहामा ४७ र महोत्तरीमा ४३ जना छन्।

क्वारेन्टिन केन्द्रमा समुचित सुरक्षा प्रबन्ध मिल्न नसक्दा, शारीरिक दूरीको ख्याल नगरिँदा सङ्क्रमण बढेको झाले बताए। ‘प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहबाट क्वारेन्टिन व्यवस्थित सञ्चालन गर्न समन्वय त भइरहेको छ’, झाले भने, ‘यद्यपि आँकलन नै नगरिएको सङ्ख्या क्वारेन्टिनमा थपिएसँगै ठाउँठाउँमा समस्या भएका छन्। आपसी समन्वयमा त्यसको व्यवस्थापन गरेर अघि बढ्नुको हामीसँग विकल्प छैन।’

प्रदेशका कैयौँ क्वारेन्टिन केन्द्रमा व्यवस्थापकीय जिम्मेवारी लिने सहयोगी हात थपिँदै जाँदा धेरै ठाउँमा राम्रो व्यवस्थापन गर्न सकिएको झाले दाबी गरे। प्रदेशका आठवटै जिल्लाका क्वारेन्टिन केन्द्रमा स्वाब सङ्कलन कार्यलाई तीव्र बनाइएको छ। पछिल्लोपटक बिहीबार एक हजार ३६४ को स्वाब सङ्कलन गरिएको छ। यो बितेका अवधिमा हालसम्मकै सर्वाधिक सङ्ख्या हो।

पिसीआर परीक्षणका लागि हालसम्म स्वाब सङ्कलन गरिएकाको सङ्ख्या १८ हजार ८९३ पुगेको छ। यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको अन्य प्रदेशमा स्वाब सङ्कलन गरिएको थियो। त्यसमध्ये तीन जनाको नतिजा पोजेटिभ र ६९ जनाको नेगेटिभ आएको झाले बताए।

स्वाब परीक्षण गरिएका मध्ये बिहीबारसम्म ९६१ जनाको नतिजा पोजेटिभ आएको छ। परिणाम प्राप्तमध्ये १० हजार ७६३ को नेगेटिभ र सात हजार १६० को नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ।

प्रदेशका आठै जिल्लामा गरी अहिले क्वारेन्टिन केन्द्र थपेर ४११ बनाइएका छन्। अहिले यी केन्द्रमा ३१ हजार ११९ श्यया छन्, जसमा २२ हजार ९६१ जना रहेका छन्। यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बिहीबारसम्म सात हजार १५ छ।

प्रदेशमा आइसोलेसन शय्या बढाएर एक हजार १२८ पुर्‍याइएको छ । बिहीबारमात्र ४१ आइसोलेसन श्यया थपिएका हुन् । हाल आइसोलेसनमा ५९१ लाई राखिएको छ । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या १२२ पुगेको छ। बिहीबार नै १७ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

प्रदेशमा हालसम्म आठ हजार ७५७ को आरडिटी गरिएको छ। जसमा आठ हजार ४०२ को नतिजा नेगेटिभ र १६८ को पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। यद्यपि पछिल्ला दिनमा क्वारेन्टिनमा रहेकाहरुको पिसीआर जाँचमै जोड दिइएको छ।

प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ। खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टिन प्रक्रिया सघन गरिनुपर्ने विज्ञको राय छ। यद्यपि पछिल्ला तीन दिनयता भारतबाट भित्रिने क्रम पातलिएको झा बताउँछन्। रासस

Facebook Comments