युरिया र डीएपी मल आपूर्तिका लागि नेपाल र भारत सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैँ – जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल युरिया र डीएपी मल आपूर्तिका लागि दुवै देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । भारतबाट नेपालतर्फ युरिया र डीएपी मलको दिर्घकालीन आपूर्तिका लागि भारत र नेपाल सरकारबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे ।

भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितमा आज आयोजित एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवम् समझदारी पत्रको आदानप्रदान भएकाे हाे ।

हस्ताक्षर कार्यक्रममा सचिव चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गरे । साथै उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा रहेकाे बताए ।

दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षासमेत गरिएको छ । यो समझदारी पत्र भारत र नेपालबीचको द्विपक्षीय आर्थिक सहकार्यमा अर्को कोसेढुंगाको रुपमा रहको छ ।

Facebook Comments