५० लाख ठगी प्रकरणमा साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर विष्ट पक्राउ

दाङ । ५० लाख ठगी मुद्दामा पक्राउ परेका दाङ घोराहीका विकाश पुनको मुद्दामा साङ्ग्रिला डेभलपमेण्ट बैंक घोराही शाखाका म्यानेजर पक्राउ परेका छन् । अनुसन्धानको क्रममा घोराहीको मनटावरमा रहेको साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

म्यानेजर विष्टलाई आज बिहान शाखा कार्यालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले विष्टले जानकारी दिए । म्यानेजर विष्टलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

उनले ठगीमा समातिएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा विष्टले सघाएको अनुसन्धानको क्रममा देखिएकाले उनलाई पक्राउ गरेको जानकारी दिए । ठूलो रकम स्रोत पुष्टि नगरेर बैंकमार्फत् पुनलाई दिएको अनुसन्धानको क्रममा खुलेकाले विष्टमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले भोलि फेरि उपस्थित हुने गरी आइतबार हाजिरी जमानतमा छाडिएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि ठगेर फरार रहेका पुनलाई केही दिन अघि मात्रै सिआईबीको प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेपछि दाङ ल्याई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

Facebook Comments