निर्वाचनमा ढिलाइ भएपछि कैलालीमा एमालेका दुई पक्षबीच झडप

धनगढी । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ढिलाइ भएपछि प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका दुई पक्षबीच झडप भएको छ। प्रतिनिधिले अधिवेशन स्थलमा नाराबाजी र तोडफोड गरेका छन्। निर्वाचनका लागि बनाइएका मतपेटिका फाल्नुका साथै मतपत्र छरिदिएका छन्। बुथहरू तितरबितर गरिएका छन् भने केही कुर्सी र टेबुल तोडफोड गरिएका छन्।

अध्यक्षका उम्मेदवार रतन थापा र रणबहादुर चन्द पक्षबीच झडप भएको हो। दुई पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेपछि आइतबार बिहानबाट निर्वाचन गर्ने कार्यतालिका थियो। तर बेलुकीसम्म पनि निर्वाचन नभएपछि अध्यक्षका उम्मेदवार थापाले हलभित्र माइकबाटै निर्वाचन समिति असक्षम रहेको र चुनाव गर्न नचाहेको भन्दै आक्रोश पोखे। उनी पक्षधर प्रतिनिधिले निर्वाचन समितिविरुद्ध हलमा नाराबाजी लगाए। अर्को पक्षका प्रतिनिधिले निर्वाचन समितिविरुद्ध नाराबाजी गर्न नपाइने भन्दै विरोध गरेपछि झडप भएको हो।

स्रोतका अनुसार कैलालीमा केन्द्रले सहमतिमै नेतृत्व चयन गर्न दबाब दिएकाले निर्वाचन सुरु गरिएको छैन। अध्यक्षका उम्मेदवार थापा निवर्तमान जिल्ला अध्यक्ष र चन्द उपाध्यक्ष हुन्।

Facebook Comments