राजेन्द्र लिङ्देनलाई झापाबाटै विश्वप्रकाशको सुझाव : ‘राजतन्त्र फर्काउने भ्रम त्यागौं’

झापा । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्र फर्कन्छ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि गृह जिल्लामा शर्माले आभार कार्यक्रमको आयोजना गर्दै नेपालीले राजतन्त्र पनि खेपिसकेको बताए ।

‘राजालाई हामीले नबोकेको हो ? भागेर दिल्ली गएका राजालाई काँधमा बोकेर ल्याउने पनि कांग्रेस, राजा वीरेन्द्रको वंशनास हुँदा ढुंगामुडा सहेर पनि गद्दी बसाउने कांग्रेस,’ उनले भने, ‘राजाले कांग्रेसको काँधमा बस्ने अनि लोकतन्त्रमाथि प्रहार गरेको पनि देखियो । अहिलेको व्यवस्था ठीक छ । कोही जनताको छोरी राष्ट्रपति बनिन् । मधेशमा हुर्किएका रामवरण यादव यो देशको राष्ट्रपति भए । के मधेशको सम्मान र स्वाभिमान बढेको छैन ? भोजपुरको गाउँमा कम्युनिस्ट आन्दोलनकी सदस्य भएर काम गरिरहेकी विद्या भण्डारी देशको राष्ट्रपति बन्दा महिलाको सम्मान र स्वभिमान बढेको छैन ? राजतन्त्र फर्काउनु भनेको यो देशमा कहिले दलितको छोराले राष्ट्रपति बन्न नपाउनु हो ।’

उनले कुनै राजनीतिक दलको नेतालाई राजतन्त्र फर्कने भ्रम भए त्याग्न आग्रह गरे । राजतन्त्र फर्कने र अन्य कुनै राजनीतिक व्यवस्था ल्याउने सपना नदेख्न उनले आग्रह गरे । यस्तै, एक दलीय कम्युनिस्ट व्यवस्थामा जान कोही पनि तयार नहुने बताए । कम्युनिस्ट शासनले देश बनाउन नसक्ने उनले बताए । जसको उदाहण उत्तर कोरिया भएको बताए । यस्तै, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीबाट पनि देशको विकास हुन नसक्ने उनको भनाइ छ ।

‘संसदीय लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएर आएको प्रधानमन्त्रीले जबरजस्ती गरेर दुईपटक संसद विघटन गरेको होइन ?’ उनले प्रश्न गरे, ‘एउटा व्यक्तिमा सम्पूर्ण अधिकार र शक्ति केन्द्रित गर्दा के हुन्छ ? अहिलेको संसदीय व्यवस्थामा केही कमजोरी र खराबी छन् । यसलाई सुधार गरेर जानुपर्छ ।’

उनले अहिलेको व्यवस्थाले सबैलाई समेट्ने बताए । ‘यो व्यवस्थामा राजतन्त्र जिन्दावाद र गणतन्त्र मुर्दावाद भन्न पनि पाइन्छ,’ उनले भने, ‘बन्दुक बोक्ने प्रचण्ड पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ । पञ्चायत जिन्दावाद भनेर हिँडेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।’ उनले व्यवस्था ठीक भएको र अब अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए । आफू महामन्त्री भएपछि विगतमा गरेका वाचा पूरा गर्न प्रतिबद्ध भएको उनको भनाइ थियो । उनले विगतमा ठूला राजनीतिक परिवर्तन भएको र अब राजनीतिमा परिवर्तन आवश्यक रहेको बताए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.