काठमाडौंमा इन्टरप्राइज इन्डिया-२०२१ प्रदर्शनीको उद्घाटन

काठमाडौं : काठमाडौंस्थित भृकुटी मण्डप प्रदर्शनी हलमा ‘इन्टरप्राइज इन्डिया २०२१ प्रदर्शनी’ को उद्घाटन गरिएको छ ।

भारतीय राजदूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले उक्त प्रदर्शनीको उद्घाटन गरेकी हुन् । उनले उद्घाटन कार्यक्रममा सहभागी आयोजक भारतीय तथा नेपाली कम्पनीहरुसँग अन्तरक्रिया समेत गरेकी हुन् । त्यसैगरी उनले आयोजकहरुलाई दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरुसँग बी टु बी साझेदारी खोज्न पनि प्रेरित गरिन् ।

भारत सरकार वाणिज्य एवम् उद्योग मन्त्रालयको सहयोगमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले ‘इन्टरप्राइज इन्डिया २०२१’ को आयोजना गरेको हो । दुवैतर्फ उपलब्ध व्यापार अवसरहरूको बारेमा सचेतना जगाई ब्रान्ड इन्डियाको प्रवद्र्धन र द्विपक्षीय व्यापार एवम् लगानी अभिवृद्धि गर्ने उद्देश्यले सो प्रदर्शनीको आयोजना गरिएको हो ।

संयुक्त उद्यम, प्रविधि आदानप्रदान, मार्केटिङ प्रबन्धलाई सहजीकरण गर्नुका साथै दुई देशका जनताबीचको सम्पर्कलाई अझ मजबुत बनाउनु यस प्रदर्शनीको मूल उद्देश्य रहेको छ ।

भारतका विभिन्न भागबाट आएका र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी भारतीय कम्पनीहरुले यस प्रदर्शनीमा आफ्ना उत्पादन तथा सेवाहरु प्रदर्शन गरिरहेका छन् । यस प्रदर्शनीमा नेपाली व्यवसायी तथा व्यापारीहरुको पनि उत्साहजनक सहभागिता रहेको छ । प्रदर्शनी पौष ६ देखि ८ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

Facebook Comments