एमसीसी संसदमा पेस नगर्न चिनियाँ दबाब

काठमाडौं । नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न संसदमा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दवाब दिएको छ ।

चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दवाब दिएको हो । चीन सरकारका अधिकारीहरुले नेपालाक ठूला भनिएका सबै दललाई संसद्मा एमसीसी पेस नगर्न दवाब दिएको स्रोतको दाबी छ । सरकारले संघीय संसदको चालु अधिवेशनमा एमसीसी पेस गर्ने तयारी गरेको छ ।

संसद्को हिँउदे अधिवेशन मंगलबारदेखि सुरु भएको छ । सरकारले संसद् अधिवेशन बोलाएपछि चिनियाँ अधिकारीले नेपालका सबै दलका नेतालाई टेलिफोन गरी नेपाल-चीन सम्बन्ध प्रगाढ र ऐतिहासिक रहेको स्मरण गराउँदै एमसीसीमा पुनर्विचार गर्न आग्रह गरेको स्रोतले बतायो ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको अन्तराष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री चेन चाओले सोमबार नेकपा एमाले महासचिव शंकर पोखरेलसाग पनि कुराकानी गर्दै यस्तो आग्रह गरेका थिए । उपमन्त्री चेनले पोखरेललाई महासचिवको पदभार ग्रहण गरेपछि बधाई दिनेक्रममा दुई पार्टीबीच अन्तरसम्बन्धित विचारलाई अझै बढी बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै एमसीसीमा पुनर्विचार गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

Facebook Comments