काठमाडौँ । भारतीय दूतावासको सहयोगमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले काठमाडौँमा इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंस्थित होटल एलोफ्टको सहकार्यमा आजादीका अमृत महोत्सव अन्तर्गत फुड फेस्टिभल आयोजना गरिएको जनाइएको छ । पुस ४ सम्म चल्ने महोत्सवमा भारतीय सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी गरिएको छ ।महोत्सवको नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरे ।
ठमेलस्थित होटेल एलोफ्टमा आयोजना गरिएको महोत्सवमा कश्मीरी परिकारहरु पुलाव, रिस्ता, गुश्ताबा, तबकमोज, लाल चिकन, कबाब, फिरनी आदीको स्वाद लिन पाइने जनाइएको छ ।
भारतको ७५ औं स्वतन्त्र वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको हो । यो कार्यक्रम आजादीका अमृत महोत्सव इण्डियन फुड फेस्टिभल श्रृंखलाको शुरुवात पनि हो ।
उद्घाटन समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरूद्वारा कश्मीरको समृद्ध सम्पदा झल्काउने साँंस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।
