बैतडी जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

काठमाडौं । बैतडीमा जन्ती बोकेर फर्किदै गरेको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । आइतबार राति ८ बजे तिर दशरथचन्द राजमार्गको गोठलापानी—झुलाघाट सकड खण्डको कलुवाडमोडमा जिप दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जना गम्भीर घाइते भएका थिए । गम्भिर घाइते २ जनामध्ये आज १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो । मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो ।

दशरथचन्द नगरपालिका-२ को थलालगाउबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बर जिप दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका हर्कबहादुर चन्द रहेका छन् ।

Facebook Comments